एसभी कलेजमा शैक्षिक माफियाको रवैया
मंसिर । संघीय समाजवादी पार्टीका अध्यक्ष अशोक राई संस्थापक अध्यक्ष रहेको कलेजले लगानीकर्तासँग पैसा उठाएर हिनामिना गरेको, नियम विपरित कलेज ठेक्कामा दिएको, विद्यार्थीसँग पैसा असुलेर परीक्षा फर्म भने नभरिदिएर विद्यार्थीहरुको भविष्यमाथि खेलवाड गरेको प्रमाणहरु फेला परेका छन् ।
एमालेका पूर्व उपाध्यक्ष पद छाडेर संघीय समाजवादी पार्टीका अध्यक्ष बनेका अशोक राई संस्थापक अध्यक्ष तथा पूर्व मन्त्री समेत बनेका समाजवादी पार्टीका उपाध्यक्ष रकम चेम्जोङ सञ्चालक समिति अध्यक्ष रहेको बुद्धनगरस्थित एसभी एकडेमीको नाममा परिचित स्वप्न वाटिका सामुदायिक कलेजले शिक्षाका नाममा यसरी ठगि गर्दै आएको हो ।
एसभी एकेडेमी कलेजलाई राई समुहले २०६६ सालबाट अरुण कँडेल अध्यक्ष रहेको रिफ फाउन्डेसनलाई नियम विपरित ठेक्कामा दिएको पाइएको छ ।
यसरी कलेजलाई ठेक्कामा दिनु भनेको सरासर शैक्षिक माफिया प्रवृत्तिभित्र पर्ने शिक्षा विद्हरु बताउँछन् । तर सम्बन्धित निकायको कमजोरीका कारण उक्त कलेज २०६६ सालदेखि ठेक्कामा चल्दै आएको छ ।
अझ सामुदायिक कलेजका रुपमा दर्ता गरिएको कलेज ठेक्कामा दिएपछि रिफ फाउन्डेशनले नीजिकरणका रुपमा सञ्चालन गर्दै आएको समेत कलेज स्रोतको दाबी छ ।
ठेक्कामा कलेज सञ्चालन हुन थालेपछि नयाँ टिममा रिफका अध्यक्ष कँडेल, कार्यकारी निर्देशक नवराज पोखरेल, कार्यकारी प्रिन्सिपल प्रमोद पोखरेल, अर्थ निर्देशक (फाइनान्स डाइरेक्टर) बाबुराम बास्तोला लगायतले सञ्चालन गर्दै आएका छन् । उनीहरुसँग यस विषयमा प्रतिक्रिया लिन खोज्दा कार्यकारी निर्देशक पोखरेललाई देखाउँदै अरु तर्किए भने पोखरेल भने व्यस्तता देखाउँदै प्रतिक्रिया दिन मानेनन् ।
यसैगरी, सोही कलेजलले बिए, बिबिए र बिएसडब्लुका ७६ जना विद्यार्थीसँग परीक्षा शुल्क लिएर परीक्षा फर्म नै नभरी दिएपछि विद्यार्थीको भविष्यमाथि नै खेलवाड भएको समेत खुल्न आएको छ ।
गत भदौंमा सम्पन्न उक्त परीक्षामा कलेजले विद्यार्थीहरुसँग पैसा उठाए पनि फर्म भने नभरिदिएकाले उनीहरुले परीक्षा समेत छुटाउन परेको विद्यार्थीहरुले हेलोखबरसँग गुनासो गरेका छन् ।
भदौ १७ गतेदेखि परीक्षा सुरु भएकोमा कलेजले प्रवेश पत्र सम्बन्धित परीक्षा केन्द्रमै पुर्याउने आश्वान दिएपछि परीक्षार्थी केन्द्रमा पुग्दा भने त्यो दिनको परीक्षा नै दिनबाट वञ्चित भएका थिए ।
पहिलो दिनको परीक्षा दिन वञ्चित भएपछि परीक्षार्थीहरु सर्वोच्च अदालत गएको र अदालतको आदेशको भरमा अन्य परीक्षा दिएपनि त्यसको नजिता आउने नआउनेबारे भने त्रिभुवन विश्वविद्यालयले अहिलेसम्म समेत स्पष्ट जवाफ दिन नसकेको पीडित एक छात्र सन्तोष निराले बताए । 'आउन पनि सक्छ आउन पनि सक्दैन मार्कसिट नआउन्जेल भन्नै सकिदैन त्रिविले यसै भन्छ', उनले भने, 'हामीलाई कलेजले बर्बाद गर्यो । हामी के गर्ने के नगर्ने भएका छौं, हामी सबैले अर्को कलेजमा पढ्ने वातावरण मिलाईदिन आग्रह गर्दा समेत कलेजले आलटाल गरिरहेको छ ।'
कलेजले विद्यार्थीको भविष्यमाथि नै खेलवाड गरिरहँदा सम्बन्धित निकायले ध्यान नदिएको भन्दै विद्यार्थीहरु भने आक्रोशित बन्दै गएका छन् ।
यता, सोही कलेजले प्राध्यापक, चिकित्सक, व्यवसायी लगायत विभिन्न क्षेत्रका व्यक्तिबाट सेयरको नाममा दुई दर्जन व्यक्तिसँग प्रतिव्यक्ति रु एक लाखदेखि चार लाखका दरले लगानीको नाममा रकम असुलेर हिनामिना गरेको समेत खुल्न आएको छ । सेयरका लागि भनेर लगानी गरेका छौं, सोही कलेजमा प्राध्यापन समेत गर्दै आएका एक लगानीकर्ताले भने अहिलेसम्म कुनै प्रमाणपत्र नै दिएको छैन, सो रकम के गरे भन्ने समेत जानकारी समेत दिएका छैनन् ।
कलेजलाई व्यवस्थित गर्ने भन्दै कलेजले गोविन्द अधिकारी, रमेश शुभेच्छुक, शैलेन्द्र मानन्धर, विदुर भुर्तेल, देवदत्त ढकाल, अरुणराज कुवर, अनन्ता खनाल र विकाश लम्सालसँग प्रतिव्यक्ति ४ लाखका दरले उठाएको तथा उदय बहादुर बुढाथोकी, भगवती नेपाल, इश्वर गजुरेलसग प्रतिव्यक्ति २ लाख ५० हजार र शाकिर हुसेनसग २ लाख उठाएका थिए ।
उनीहरुलाई कलेजलाई व्यवस्थिते बनाउने लगायत विभिन्न आश्वासन दिएर पैसा असुल गरेपनि पैसा लिएको रिसिप्टबाहेक अरु कुनै पत्र समेत नदिएको पीडितले गुनासो गरेका छन् । पीडितहरुले कलेजमा जम्मा भएको रकम सबै व्यक्तिगत तथा अन्य ठाउँममा लगानी गरेर कलेजलाई डुबाउने खेलमा रिफ टोलि लागिरहेको र त्यसमा अशोक राई भने मौन समर्थन गरेकाले यस्तो हुन गएको बताउँछन् ।
त्यसो त कलेजले लगभग तीन दर्जन भन्दा बढी प्राध्यापक तथा कर्मचारीहरुलाई दुई वर्षदेखि तलब नै नदिएको खुलासा समेत भएको छ ।
२०६८ सालदेखि ३ जना प्रध्यापकले तलब पाएका छैनन् भने २०६९ दशैंदेखि अहिलेसम्म १÷२ जनाले केही खर्च बाहेक अधिकांशले तलब नपाएको पीडित पक्षले गुनासो गरेका छन् ।
लगातार तलब नपाएसँगै सेयरको प्रमाणपत्र समेत नपाएपछि पीडितहरुले संस्थापक अध्यक्ष राईसँग पटक पटक गुनासो पोख्दा समेत संघीय पार्टीका अध्यक्ष समेत रहेका राईले पनि वास्ता नगरेको पीडितहरुको भनाई छ ।
दुई वर्षदेखि तलब नपाउने पीडित प्राध्यापकमा पाटन संयुक्त क्याम्पसका उप प्राध्यापक गोपाल खड्का, एसभी एकेडेमी स्थापना कालदेखि प्राध्यापनरत नेपाली विषयका प्राध्यापक रमेश शुभेच्छु, पत्रकारिता विषयको प्राध्यापन गर्दै आएका अन्नपूर्ण पोष्टका पत्रकार कीर्तन अधिकारी, प्राध्यापक गोबिन्दराम अधिकारी रहेका छन् । यस्तै कलेजका एकाउन्टेन शैलेन्द्र मानन्धर, डिसिप्लिन इन्चार्ज (डिआइ) एवम् लाइब्रेरीयन वस्तीराम लामा समेत शैक्षिक माफियाको जालोमा परेर फसेको स्रोत दाबी गर्छ ।
पीडित लगानीकर्ता, विद्यार्थी तथा तलब नपाउने शिक्षकहरु भने रिफ व्यवस्थापन तथा संस्थापक अध्यक्ष राईसँग पटक-पटक ध्यानाकर्षण गराउँदा समेत केही नलागेको भन्दै अदालत जान लागेको स्रोतको दाबी छ । कलेजलाई ठेक्कामा दिएसँगै कार्यकारी प्रमुख बनेको पोखरेल टिमले कलेजको नाममा ठगि गरेको र त्यसमा संस्थापक अध्यक्ष राई लगायतले समर्थन गरेको उनीहरुको ठम्याई छ । संस्थापक अध्यक्ष राई र सञ्चालक समिति अध्यक्ष रकम चेम्जोङसँग प्रतिक्रियाका लागि पटक पटक सम्पर्क गर्दा पनि सफल हुन सकेन ।
प्रकाशित मिति:
December 04, 2013