कांग्रेस एमालेद्धारा सरकार चलाउन समिति गठन

सिंहदरबारमा सोमवार बसेको ती दलको संयुक्त बैठकले यस्तो समिति गठन गरेको हो । सरकार सञ्चालनका सम्वन्धमा उच्चस्तरीय निर्णय गर्न गठन गरिएको उक्त समितिमा कांग्रेसका तर्फबाट प्रधानमन्त्री एव्म संसदीय दलका नेता कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, रामचन्द्र पौडेल र महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला रहेका छन् । त्यसैगरी उक्त समितिमा एमालेका तर्फबाट एमाले अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता माधव कुमार नेपाल र उपाध्यक्ष एवम् गृहमन्त्री वामदेव गौतम, संसदीय दलका नेता केपी शर्मा ओली र महासचिव ईश्वर पोखरेल रहेका छन् ।
साथै उक्त समितिलाई सहयोग गर्न एउटा कार्यदल समेत गठन गर्ने निर्णय भएको छ । उक्त कार्यदलमा एमालेबाट विष्णु पौडेल र भीम आचार्य रहने भएका छन् । कांग्रेसबाट भने कसैको पनि नाम नआएको बैठकमा सहभागी नेताहरुले जानकारी दिए । यही विषयलाई लिएर मङ्गलवार एमाओवादीसहितको त्रिपक्षीय वार्ता हुने भएको छ । मधेसवादी दल लगायत अन्य दलहरुसँग पनि वार्ता गरी सहमति निर्माण गर्न उक्त समितिले पहलकदमी लिने बताइएको छ । मङ्गलवारको बैठकमा २६ सभासदको मनोनयन, संविधानसभा तथा व्यवस्थापिका संसदमा गठन गरिने विभिन्न समिति लगायतका विषयमा छलफल हुने बुझिएको छ ।
प्रकाशित मिति:
March 24, 2014