ढुंगा हानेर अराजकता मच्चाउँदैमा हतियारसहित पक्राउ परेकालाई छाडिन्न : खरेल

फागुन २५ । नेपाल विद्यार्थी संघले एसएसपी रमेश खरेललाई तत्काल कारबाही गर्न माग गरेको छ । डन समातेर चर्चामा आएका खरेललले नाम कमाउने र सेलिब्रेटी बन्ने नाममा गैर कानुनी ढंगले नेविसंघका नेताहरुलाई गिरफ्तार गरेको भन्दै नेवि संघले उनको कारवाही माग गरेको हो ।
काठमाडौं प्रमुख समेत रहेका खरेलको निर्देशनमा गत फागुन १९ गते नेविसंघका पूर्व सह महामन्त्री सचित शर्मा, शंकरदेव क्याम्पसका स्ववियु सभापति शुभराम बस्नेत, नेविसंघका नेता राकेश विक्रम शाही, लिलाबहादुर खड्का र जोन खड्कालाई विना कारण पक्राउ गरेको नेविसंघको आरोप छ ।
नेपाल सरकारद्वारा इजाजत प्राप्त हतियारलाई गैर कानुनी भनी पक्राउ गर्नु प्रहरी प्रसाशनले नै गैर कानुनी काम गरेको आरोप पनि नेवि संघको छ । नेविसंघका अध्यक्ष एवं सभासद् रञ्जित कर्णले नेविसंघ कानुनमा विश्वास गर्ने भन्दै खरेलले गलत ढंगले नाटक मञ्चन गरी आफ्ना नेताहरुलाई पक्राउ गरेको आरोप लगाए ।
खरेलले भने कसैले ढुंगामुढा गरेर अराजकता मच्चाउँदैमा वा कसैको दबाबमा आएर गैरकानुनी हातहतियारसहित पक्राउ परेका नेविसंघका नेताहरुलाई नछाड्ने चेतावनी दिएका छन्। खरेलले आइतबार ढुंगा हानेर अराजकता मच्चाउँदैमा पुलिसले छोड्छ भन्ने भ्रम नपाल्न चेतावनी दिए । पुलिसले कानुनको कोर्स पूरा नगरी उनीहरुलाई नछाड्ने उनको कडा चेतावनी थियो ।
उनले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट उनीहरुलाई अनुसन्धानका लागि थप चार दिन हिरासतमा राख्न अनुमति लिएको समेत जानकारी दिए।
प्रकाशित मिति:
March 09, 2014