दोस्रो चीन दक्षिण एशिया व्यापार मेलामा नेपाललाई निम्तो
चीनले ‘दोस्रो चीन दक्षिण एशिया व्यापार मेला’मा सहभागी हुन नेपाललाई निम्तो दिएको छ । चीनको दक्षिण–पश्चिमी प्रान्त युनानका गभर्नर ली झिहेङले परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई भेटेर व्यापार मेलामा सहभागीताका लागि निम्तो दिएका हुन् । प्रधानमन्त्री सुशील कोइरालालाई सो मेलामा आमन्त्रण गर्नका लागि युनान प्रान्तका गभर्नर लि झिहेङ शनिबार नेपाल आएका हुन् ।
परराष्ट्रमन्त्री पाण्डेसँगको भेटमा नेपाल–चीन सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो । कृषि क्षेत्रको विकासमा युनानले हासिल गरेको उपलब्धि नेपालका निम्ति लाभदायक हुने उल्लेख गर्दै यसै वर्ष राजधानी कुनमिङमा हुने ‘दोस्रो चीन दक्षिण एसिया व्यापार मेला’मा सहभागी हुन गभर्नर लीले आमन्त्रण गर्नुभएको बैठकबारे सङ्क्षिप्त जानकारी दिँदै मन्त्री पाण्डेले बताए ।
कृषि उद्यममा आधारित उद्योगको विकासलगायत विविध औद्योगिक सामग्रीको प्रदर्शनी मेलामा हुने भएकाले चिनियाँ अनुभव नेपालका निम्ति पनि सहयोगी हुने आशय व्यक्त गर्दै गभर्नर लीले सहभागीताको अपेक्षा गरेका हुन् । नेपालको पर्यटन, आर्थिक, सामाजिक, शिक्षाको विकासमा चीनले सघाइरहने प्रतिबद्धता व्यक्त गर्दै उनले अत्यन्त निकटको छिमेकी नेपालको समृद्धि चीनले चाहेको अभिव्यक्ति दिएको मन्त्री पाण्डेले जानकारी दिएको खबर आर्थिक दैनिकमा छ ।
विश्वको दोस्रो आर्थिक शक्तिका रूपमा उदाएको चीनबाट नेपालले अधिकभन्दा अधिक फाइदा लिनुपर्ने मान्यताका साथ आफूहरू आर्थिक विकासमा लागेको जानकारी आफूले गराएको उनले बताए । काठमाडौँ र कुनमिङबीच प्रत्यक्ष हवाई वृद्धिसँगै चिनियाँ पर्यटक बढाउन पनि आफूले सहयोग गर्ने गभर्नर लीको भनाइ थियो । भेटमा नेपालका लागि चिनियाँ राजदूत उ चुन्ताई र भ्रमण दलका अन्य सदस्यहरुको सहभागीता रहेको थियो । फोटोः फाइल
प्रकाशित मिति:
March 24, 2014