साहित्यकारहरुद्वारा अनेकोट हत्याकाण्डको स्मरण

संवाद डवलीमा सहिद स्मृति मञ्चको आयोजनामा भएको अन्तरक्रियामा उनीहरुले गीत, कविता बाचन गरे ।
कवि मणि थापाले जनयुद्धको सकारात्मक पक्षको खोजी गर्ने बेला आएको बताए । उनले भने, ‘फेरि पनि क्रान्तिकारी लेखक, कलाकारहरु उठ्न पर्ने बेला आएको छ ।’ उनले साँस्कृतिक क्रान्तिको माग भईरहेको पनि बताए ।
प्रगतिशील लेखक संघका अध्यक्ष अमर गिरीले माओवादी जनयुद्धले उठान गरेको मुल्य मान्यताको विषयमा खोजी गर्ने बेला आएको बताए । अब राजनीतिक रुपमा स्रष्टाहरुले विकसित निरासा चिर्न कलम तिखो पार्ने बेला आएको पनि बताउँदै उनले भने, ‘त्यसका लागि बैचारिक रुपमा स्पष्ट हुन जरुरी छ ।’
नेकपा–माओवादीका सल्लाहकार हस्तबहादुर केसीले विगतको सशस्त्र क्रान्तिको स्मरण गर्नु भनेको हामीले अधुरो क्रान्तिको पुरा गर्ने अभिभारा पुरा गर्ने बेला आएको बताए भने वरिष्ठ कवि मित्रलाल पगेनीले कविताले पनि क्रान्तिका लागि साथ सहयोग दिने दावी गरे । उनले भने, ‘कवितामा पनि क्रान्ति गर्ने तागत हुन्छ ।’
कार्यक्रममा पूर्व मन्त्री सत्य पहाडी, निभा शाह, नरबहादुर विसी, आनन्दराम पौडेल, संगीत स्रोता लगायत एक दर्जन कविहरुले कविता बाचन गरेका थिए ।
प्रकाशित मिति:
March 24, 2014