बेपत्ता छानबिन आयोग बनाउन तीन दलबीच कुरा मिल्यो

उच्चस्तरीय राजनीतिक समितिले सरकार सञ्चालन र संविधान निमार्णमा सघाउने गरी काम गर्ने विषयमा पनि बैठकमा सहमति भएको नेताहरुले जानकारी दिए ।
बैठकमा प्रमुख तीन दलबीच विगतमा भएको चारबुँदे सहमतिको कार्यान्वयनका बारेमा पनि सकारात्मक छलफल भएको थियो । त्यसैगरी, संविधानसभा निर्वाचनमा भएका क्रियाकलापको अध्ययन गर्न संसदीय समिति बनाउन पनि नेताहरु राजी भएको बैठकमा सहभागी नेताहरुले जानकारी दिए । ‘शान्ति प्रक्रिया, संविधान निर्माण र सङ्क्रमणकालीन राजनीतिको व्यवस्थापनका सम्बन्धमा छलफल केन्द्रित रह्यो,’ काङ्ग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले भने, ‘विगतमा भएका सहमतिको कार्यान्वयनका पक्षमा पनि प्रमुख तीन दलबीच सकारात्मक छलफल भयो । उनले संविधानसभाको निर्वाचनमा एमाओवादीले उठाएको प्रश्न सम्बोधन गर्न र हालै भएको मूल्यवृद्धिका सम्बन्धमा अध्ययन गर्न संसदीय छानबिन समिति बनाउने सहमति भएको पनि जानकारी दिए । एमाओवादीले संविधानसभाको दास्रो निर्वाचनमा धाँदली भएको भन्दै छानविन समिति बनाउँनु पर्ने अडान राख्दै आएको छ ।
एमाओवादी नेता पोष्टबहादुर बोगटीले बैठकमा सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग निर्माण गर्ने सम्बन्धमा सहमति भइसकेको जानकारी दिए । ‘ती विषयमा सकारात्मक छलफल भएको छ,’ उनले भने ‘समयको अभावले बाँकी रहेका विषयमा भोलि (बिहीवार) बस्ने बैठकले सबै विषयमा टुङ्गो लगाउने छ । बैठकमा मन्त्रिपरिषदले मनोनयन गर्ने संविधानसभाको २६ सीट कुन दललाई कति भन्ने दलीय भागवण्डाका बारेमा पनि छलफल भएको थियो । त्यसैगरी बैठकमा तत्काल संविधान निर्माण कार्यलाई अघि बढाउन संविधानसभाका संसदीय समितिलाई पूर्णता दिने, संवैधानिक परिषद् गठन गर्ने र राजदूत नियुक्त गर्ने लगायतका विषयमा समेत छलफल भएको बताइएको छ ।
विगतमा भएको चारबुँदे सहमतिको कार्यान्वयनका बारेमा प्रमुख तीन दलबीच र सरकार गठनका बेला काङ्ग्रेस र एमालेबीच भएको सातबुँदे सहमतिको कार्यान्वयनका लागि सोमवारदेखि छुट्टाछुट्टै छलफल सुरु भएको छ । मङ्गलवार प्रधानमन्त्री निवास बालुवाटा मै बसेको तीन दलका शीर्ष नेताबीचको बैठकले संविधान निर्माण र निरन्तर संवाद तथा छलफलका लागि उच्चस्तरीय राजनीतिक समिति बनाउने र शान्ति प्रक्रियाका बाँकी मुद्दालाई तत्काल अघि बढाउने सहमति गरेका थिए । उनीहरुले बुधवारको बैठकमा सबै कुराको टुङ्गो लगाउँने बताएका थिए । तर, समय अभावका कारण ती दलले बैठक बिहीवारका लागि सारेका छन् । बिहान ८ बजे बस्ने बैठकले सबै कुराको टुङ्गो लगाउने ती नेताहरुको दाबी छ ।
बुधवारको बैठकमा काङ्ग्रेसका तर्फबाट सभापति एव्म प्रधानमन्त्री सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल र महामन्त्री कृष्णप्रसाद सिटौला थिए । एमालेका तर्फबाट अध्यक्ष झलनाथ खनाल, महासचिव ईश्वर पोखरेललगाएत सहभागि थिए । एमाओवादीका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल, पोष्टबहादुर बोगटीलगाएत सहभागि थिए ।
प्रकाशित मिति:
March 26, 2014