विद्यालय भवन बनाउन भारतीय अवरोध, स्थानीय उत्रिए प्रतिकारमा
वैशाख ६ । कञ्चनपुरको राइलाटोल नजिक नेपाल भारत सीमा क्षेत्रमा विद्यालय भवन निर्माणको विषयलाई लिएर भारतीय वन प्रशासन र सुरक्षाकर्मीले अवरोध गरेका छन् । भारतीय पक्षको अवरोधपछि स्थानीयबासी भने भारत पक्षसँग आक्रोसित भएका छन् ।
भारतीय सुरक्षाकर्मी दिनहुँ हतियारसहित नेपाली भूभागमा प्रवेश गरी निर्माण रोक्न दबाब दिन थालेपछि स्थानीयवासी प्रतिकारमा उत्रेका हुन् ।
त्रिभुवनबस्ती ३ स्थित सीमा क्षेत्रको नेपाली भूभागमा एक दशक अघिदेखि सञ्चालनमा रहेको बाल जागृति प्राविको पक्की भवन निर्माण हुन थालेपछि भारतीय पक्षले अवरोध गरेको हो । 'आवास कम्पनीको जग्गामा विद्यालय सञ्चालन भइरहेको थियो,' प्रधानाध्यापक दानबहादुर विकले भने ।' उनका अनुसार बिल्ड अन नेपाल नामक धनगढीको एक संस्थाको सहयोगमा ३ कोठे भवन बनाउन थालेपछि भारतीय सुरक्षाकर्मीले अवरोध गरेका हुन् ।' चैत १७ देखि २० सम्म लगातार ४ दिन हतियारसहित आएका वन अधिकारी, एसएसबी र प्रहरीले निर्माण रोक्न दबाब दिँदै गालीगलौज र दुव्र्यवहार गरेको स्थानीयवासीले बताए ।
सीमा क्षेत्र निरीक्षणका क्रममा आइतबार नापी विभाग र सशस्त्र प्रहरीको सीमा सुरक्षा बलका अधिकारी भवन निर्माणस्थल पुगेका छन् । सीमाबाट करिब १ किमि टाढाको नेपाली भूभागमा समेत भारतीय पक्षले विद्यालय निर्माणमा अवरोध गरिरहेको जानकारी उनीहरूलाई स्थानीयबासीले दिएका छन् । 'भारतीयहरूले नेपाली सीमा मिच्दैे आएका छन्, राज्य मौन छ, स्थानीय प्रशासन मुकदर्शक भएर बसेको छ,' टोलीसँग आक्रोस पोख्दै स्थानीय हरि अधिकारीले भने, '४ दिनसम्म हतियारधारी भारतीय सुरक्षाकर्मी नेपाली भूभागमा प्रवेश गर्दा समेत स्थानीय प्रशासन चुप लागेर बस्यो ।'
उक्त विद्यालय भवन निर्माणमा अमेरिका, भारत र दुबइमा बसोबास गर्नेहरूका संस्थाले आर्थिक सहयोग दिएका छन् । प्रधानाध्यापक विकका अनुसार चैत १७ मा सिलान्यास गर्ने कार्यक्रममा विदेशीहरू पनि सहभागी थिए । गोरो छाला विदेशी देखेपछि भारतीय सुरक्षाकर्मी २५/३० जनाको संख्यामा हतियारसहित प्रवेश गरी निर्माण तत्काल बन्द गर्न दबाब दिएको उनले जानकारी दिए । त्यसपछि लगातार उनीहरू निर्माणस्थलमा आएका थिए । सुरक्षा निकायसँग हारगुहार गरेपछि सशस्त्र प्रहरीले गस्ती गर्न थालेको विकले बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओम क्षेत्रीका अनुसार ३र४ जना स्थानीयवासीलाई भारतीय सुरक्षाकर्मीले आफ्नो भूभागमा आए पक्राउ गर्ने धम्की दिइरहेको खबर कान्तिपुरमा छ ।
प्रकाशित मिति:
April 19, 2014