पूर्वराजा ज्ञानेन्द्रपुत्रीद्धारा ट्रष्टको घरजग्गा आफ्नो नाममा गरिदिन सरकारलाई पत्र
चैत्र २० । पूर्वराजा ज्ञानेन्द्रका छोरी तथा पूर्वअधिराजकुमारी प्रेरणाले आफूले कब्जा गरी बस्दै आएको नेपाल ट्रष्टको भवन र त्यसले चर्चेको बहुमूल्य जग्गा आफ्नो भएको दाबी गर्दै आफ्नो नाममा गरिदिन सरकारलाई लिखित आग्रह गरेकी छन् ।
उनले प्रधानमन्त्री सुशील कोइराला र उपप्रधान एवं गृहमन्त्री वामदेव गौतमलाई राजधानीको छाउनीस्थित उक्त भवन र जग्गा आफ्नो पेवा भएकाले आफ्नो नाममा नामसारी गरिदिन आग्रह गर्दै पत्र लेखेको जानकारी उच्च सरकारी अधिकारीले दिएका छन् ।
मुलुकमा गणतन्त्र बहाली भएपछि सरकारले पूर्वराजा वीरेन्द्र र उनको परिवारको नाममा रहेको भवन, जग्गासहित सम्पूर्ण सम्पत्ति नेपालको ट्रष्टको नाममा ल्याएको हो । ट्रष्टको नाममा आइसकेको सम्पत्तिभित्र छाउनीस्थित पूर्वराजा वीरेन्द्र र उनको परिवारको नाममा रहेको जग्गासमेत पर्छ ।
ट्रष्टको नाममा आइसकेको पनि उक्त जग्गा र भवन पूर्वराजा ज्ञानेन्द्रकी छोरी प्रेरणा र ज्वाइँ राजबहादुर सिंहले लामो समयदेखि कब्जा गरेर बसिरहेको खबर कान्तिपुर दैनिकमा छापिएको छ । ट्रष्टले उक्त भवन र जग्गा स्वर्गीय राजा वीरेन्द्रको नामबाट आफ्नो नाममा आइसकेको उल्लेख गर्दै छाड्न आग्रह गरी प्रेरणा र सिंहलाई बारम्बार लिखित रूपमा दबाब दिंदै आएको छ ।
प्रेरणाले प्रधानमन्त्री र गृहमन्त्रीलाई लेखेको पत्रमा उक्त जग्गा र भवन आफ्ना बाबु तत्कालीन राजा ज्ञानेन्द्रले आफ्नो सम्पत्तिबाट आफूलाई बिहेमा दाइजोमा दिएकोले ट्रष्टको हुन नसक्ने उल्लेख गर्दै आफ्नो नाममा नामसारी गरिदिन जिकिर गरेकोसमेत स्रोतले उल्लेख गरे । उनले उक्त जग्गा तत्कालीन राजा वीरेन्द्रको नभई आफ्ना बाबु ज्ञानेन्द्रको भएकाले ट्रष्टको नाममा जान नसक्ने दाबीसमेत गरेकी छन् ।
दरबार हत्याकाण्डमा परी तत्कालीन राजा वीरेन्द्रसहित सिंगै परिवार मारिएपछि राजा भएका ज्ञानेन्द्रले वीरेन्द्र र उनको परिवारको नाममा रहेको सम्पूर्ण जग्गाजमिन र भवनहरू आफ्नो नाममा सारेका थिए । आफू राजा भएकै बेला ज्ञानेन्द्रले छाउनीस्थित उक्त जग्गा र भवन आफ्नी छोरी(ज्वाइँलाई दिएका हुन् । त्यही बेलादेखि प्रेरणा र सिंह उक्त भवन र जग्गामा बस्दै आएका छन् । उक्त भवन र परिसरले चर्चेको जग्गा १० रोपनीभन्दा बढी रहेको जानकारी ट्रष्ट स्रोतले दिएको छ ।
नेपाल ट्रष्टका तर्फबाट तत्कालीन गृहमन्त्री माधव घिमिरेले चार महिनाअघि मन्त्रिपरिषदका तत्कालीन अध्यक्ष खिलराज रेग्मीलाई बुझाएको वाषिर्क प्रतिवेदनमा जति प्रयास गर्दा पनि प्रेरणा बस्दै आएको भवन र जग्गा ट्रष्टले उपभोग गर्न नपाएको उल्लेख छ ।
ुछाउनीस्थित तत्कालीन राजा वीरेन्द्रको नाममा रहेको घरजग्गा यस कार्यालयको स्वामित्वमा आए तापनि उक्त जमीनमा बनेको भवन तत्कालीन राजपरिवारका सदस्यले हालसम्म उपयोग गरिरहेकाले ट्रष्टको प्रयासको बावजुद पनि ट्रष्टले उपभोग र उपयोग गर्न बाँकी रहेको छु ट्रष्टको प्रतिवेदनमा उल्लेख छ ।
नेपाल ट्रष्ट ऐन ०६४ अनुसार गठित नेपाल ट्रष्टको संरक्षकमा प्रधानमन्त्री रहन्छन् भने ट्रष्ट सञ्चालक समितिको अध्यक्ष प्रावधान गृहमन्त्री रहने प्रावधान छ ।
प्रकाशित मिति:
April 03, 2014