कांग्रेस निकट युनियन चुनावमा एक्लै लड्ने
बैशाख १६ । नेपाल प्रेस युनियनले नेपाल पत्रकार महासंघको आगामी निर्वाचनका लागि उम्मेदवारहरुको टुंगो लगाएको छ । अध्यक्षमा यस अघि नै पोषण केसीलाई उठाउँने निर्णय गरेको प्रेस युनियनले एकल रुपमा चुनाव लड्ने निर्ण गर्दै उम्मेदवार तय गरेको हो ।
महासंघमा काङ्ग्रेस भन्दा केही कमजोर रहेको प्रेस चौचारीले क्रान्तिकारी पत्रकार संघ र महासंघसँग मिलेर चुनाव लड्ने निर्णय गरिसकेको अवस्थमा युनियनले एकल चुनाव लड्ने निर्णय गरेको हो । विगतका वर्षमा महासंघमा एकछत्र नेतृत्व सम्हाल्दै आएको युनियनले अघिल्लो चुनावमा भने चौतारीका उम्मेदवार शिव गाउँलेसँग हारेको थियो । उक्त चुनावमा पनि चौतारी र क्रान्तिकारी पत्रकार संघ मिलेर चुनाव लडेका थिए ।
युनियनको कार्यसम्पादन समितिको मंगलवार बसेको बैठकले क्रान्तिकारी पत्रकार महासंघसँग मिलेर चुनाव लड्ने प्रयाससहित वार्ता गरेको थियो । महासंघसँगको त्यो प्रयास पनि असफल भएपछि युनियनले पत्रकार महासंघको उपाध्यक्षमा आफ्ना तर्फबाट रामजी दाहाल, समावेशी उपाध्यक्षमा अनिता विन्दु र महासचिवमा वर्तमान सचिव जगत नेपाललाई उठाउने घोषणा बताएको छ । त्यस्तै सचिवमा दिलिप थापामगर, एसोसिएट सचिवमा प्रकाश थापा र समावेशी सचिवमा गोविन्द परियार तथा कोषाध्यक्षमा राजेश मिश्रलाई उम्मेदवार बनाएको छ । महिला सचिवको भने टुंगो लगाइएको छैन । त्यस्तै लेखा समितिको संयोजकमा प्रदीप चापागाईँलाई उम्मेदवार बनाइएको छ । त्यसैगरी उपत्यकाबाट शिरोमणी ढुंगाना र भुपेन्द्र आचार्य, प्रतिष्ठानवाट नारायण अर्याल र सुवोध गौतम, महिलाबाट प्रतिमा बास्कोटा र शलोजा दाहाल, जनजातिबाट नारायण किलम्बु र मोहन वान्तवालाई उम्मेदवार बनाएको छ ।
यसैगरी कर्णालीवाट बिनोद मल्ल, पूर्वाञ्चलवाट कृष्ण हुमागाईँ र भक्तिविलास पोख्रेल, मध्यमाञ्चलवाट शम्भु गौतम र शीतल महतो, पश्चिमाञ्चलवाट खिमानन्द भट्टराई र ओम घायल, मध्यपश्चिमाञ्चलवाट राजिव केसी र भीमबहादुर केसी तथा सुदूरपश्चिमाञ्चलवाट टेकेन्द्र देउवा र माधव धामीलाई उठाएको छ । निर्वाचन बैशाख २० र २१ मा काठमाडौमा हुँदैछ ।
प्रकाशित मिति:
April 29, 2014