विराटनगरमा एमाओवादी सम्मेलन सुरु
वैशाख १८ । एकीकृत नेकपा माओवादीको राष्ट्रिय सम्मेलन विराटनगरमा सुरु भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहालले मजदुरको झन्डा झन्डोत्तोलन गरेर सम्मेलनको उद्घाटन गरेका छन् । सम्मेलनस्थल विराटनगरलाई राता तुल तथा ब्यानरले पूरै सिंगारिएको छ । सम्मेलनमा सहभागी हुन देशैभरीबाट एमाओवादी नेता तथा कार्यकर्ता विराटनगर पुगेका छन् ।
सम्मेलनमा प्रतिनिधि, पर्यवेक्षक र व्यवस्थापनमा खटिने गरी १५ सय माओवादी नेता तथा कार्यकर्ताको उपस्थिति रहेको छ । उक्त समूहलाई व्यवस्थापन गर्न व्यवस्थापन समितिलाई भने हम्मे हम्मे परेको छ । एमाओवादीले लगभग ५० लाखमा सम्मेलन सम्पन्न गर्ने लक्ष्य राखेको छ ।
सम्मेलनमा अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक, सांगठनिक अवस्था लगायत विषय समेटेर प्रतिवेदन पेस गर्नेछन् । यसअघि माघमा सम्पन्न एमाओवादी केन्द्रीय समिति बैठकले एक वर्षपछि पार्टी महाधिवेशन गर्ने र वैशाखमा राष्टिय सम्मेलन गर्ने निर्णय गरेको थियो ।
केन्द्रीय समितिमा पूर्वउपाध्यक्षद्धय बाबुराम भट्टराईले छलफलका लागि ११ बुदा र नारायणकाजी श्रेष्ठले ९ बुदा पेस गरेका थिए । अहिले भने नेताद्धय पर्ख र हेरको अवस्थामा छन् । आफू पक्षीय नेता तथा कार्यकर्तालाई चित्तबुझ्दो व्यवस्थापन नगरिए भट्टराई र श्रेष्ठ आक्रमक रुपमा अघि बढ्ने तयारीमा छन् । माओवादीमा जिल्ला सम्मेलनका क्रममा देशैभर विवाद सिर्जना भईरहेको अवस्थामा सम्मेलनले विधान संशोधन गरेर पार्टी भित्रको असन्तुष्टि सम्बोधन गर्ने योजना ल्याएको छ ।
केन्द्रीय प्रतिनिधिमा नपरेका जिल्ला र राज्य समितिका सदस्यहरुको असन्तुष्टि र केन्द्रीय समितिको आकार सानो बनाउँदा असन्तुष्टी सम्बाधेन गर्न एमाओवादीले विधान नै संशोधन गर्ने तयारी गरेको हो ।
जिल्ला सम्मेलनका क्रमा एमाओवादी भित्र गोरखा, रौतहट, दोलखा, नवलपरासी, रुपन्देही, चितवन, दैलेख, भक्तपुर सिन्धुली लगायतका जिल्लामा विवाद छ ।
गत माघमा सम्पन्न केन्द्रीय समिति बैठकले गाउ वा नगर समिति २५ सदस्यीय, ५१ सदस्यीय जिल्ला समिति र ९९ सदस्यीय केन्द्रीय समिति बनाउने सीमा तोकेको थियो । उक्त सिमामा नेताहरुका आ आफ्ना गुट बन्न थालेपछि विवाद निक्कै छ ।
वैशाख २३ सम्म चल्ने एमाओवादी राष्टिय सम्मेलनले विधान संशोधन गर्ने, क्रान्तिकारी ध्रुविकरण र संयुक्त मोर्चा निर्माणका लागि समसामयिक राजनीतिक प्रस्ताव र संगठनात्मक संरचनामा हेरफेर गर्ने जनाइएको छ ।
प्रकाशित मिति:
May 01, 2014