आगामी आर्थिक वर्षको बजेट लगानीमैत्री : अर्थमन्त्री
विराटनगर, ५ असार । अर्थमन्त्री डा. रामशरण महतले आगामी आर्थिक वर्षको बजेट लगानीमैत्री हुने बताएका छन् ।
विराटनगरमा आज सञ्चारकर्मीहरुसँगको भेटमा उनले बजेट संसद्बाट पारित भएपछि मुलुकमा विदेशी लगानी भित्रिने र उत्पादनमा वृद्धि भई स्थानीय तहमा रोजगारी बढ्ने सम्भावना धेरै हुनेछ भने ।
अर्थमन्त्री महतले प्रधानमन्त्री मुलुक बाहिर रहेकाले सरकारका तर्फबाट नीति र कार्यक्रम ल्याउन केही ढिलाइ भएको बताए ।
उनले प्रत्येक निर्वाचन क्षेत्रमा रु पाँच करोड उपलब्ध गराउने कुरा सरकारले धान्न नसक्ने जानकारी दिँदै उपयुक्त नीति अपनाएर सबै निर्वाचन क्षेत्रमा बजेट विनियोजन गरिने बताए ।
अब आउने बजेटले निजी क्षेत्रको विकासका साथै ऊर्जा, शिक्षा, स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिने पनि उनले उल्लेख गरे ।
डा महतले कालोबजारी र कृत्रिम मूल्य वृद्धि गर्ने जो कोहीलाई कारबाही गर्न सरकार प्रतिबद्ध रहेको पनि बताएका छन् ।
प्रकाशित मिति:
June 19, 2014