व्यापारी लुटपाट र कुटपिट आरोपमा सशस्त्र प्रहरीका सईसहित चार जना पक्राउ
महोत्तरी २२ जेठ । महोत्तरी जिल्लाको जलेश्वरमा खसी व्यापारीहरूलाई लुटपाट र कुटपिट गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय महोत्तरीले सशस्त्र प्रहरीका नायब निरीक्षकसहित चार जनालाई गएराति पक्राउ गरेको छ
पक्राउ पर्नेमा सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय महोत्तरीमा कार्यरत सशस्त्र प्रहरी नायब निरीक्षक विद्याभूषण झा, सशस्त्र प्रहरी हवल्दार सञ्जीव कुमार राय, सशस्त्र प्रहरी सहायक हवल्दार नवीन चन्द र सशस्त्र प्रहरी जवान मिथिलेसप्रसाद चौधरी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पक्राउ परेका चारैजनाले गएराति ८ बजेको समयमा जलेश्वर–६ स्थित परिक्रमा गाछीमा भारतबाट खसी किनेर आइरहेका व्यापारीहरू जलेश्वर–६ बस्ने राजेन्द्र दास, बलराम दास, कृष्ण दास र सुनिल दासलाई कुटपिट गरेको र निजहरूको साथबाट रु ६० हजारसमेत लुटपाट गरेको आरोप लगाइएको प्रहरी निरीक्षक इकवाल हवाडीले बताए ।
व्यापारीहरूले भारतबाट भन्सार तिरेर १२/१४ वटा खसी किनेर ल्याइरहेको बेला सशस्त्र प्रहरीका चारैजनाले मिलेर उनीहरूसँग पैसा मागेको र उनीहरूले हामीले भन्सार तिरेर आएका छौं भन्दै पैसा नतिरेपछि उनीहरूलाई सशस्त्र प्रहरीले बेस्सरी कुट्नुका साथै रु ६० हजारसमेत लुटपाट गरेको प्रहरी निरीक्षक हवाडीले बताए ।
व्यापारीहरूलाई कुटिरहेका सशस्त्र प्रहरीलाई जलेश्वरको आयुर्वेद अस्पताल चोकमा खटिएका नेपाल प्रहरीका जवानले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा ल्याएका थिए । साथै व्यापारीहरूलाई पनि प्रहरीले जिल्ला प्रहरीमा ल्याएका थिए ।
जिल्लामा ल्याइएका व्यापारीहरूसँग भन्सारको कागजात पाएपछि प्रहरीले व्यापारीलाई तत्कालै छाडेका थिए भने सशस्त्र प्रहरीलाई मेडिकल जाँच गराई आवश्यक विभागीय कारबाहीको माग गर्दै सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय महोत्तरीको जिम्मा लगाइएको प्रहरी निरीक्षक हवाडीले बताए ।
प्रकाशित मिति:
June 05, 2014