प्रधानमन्त्री कोइराला चीनको कुन्मिङ सहरमा
काठमाडौँ, २२ जेठ । प्रधानमन्त्री सुशील कोइराला चीनको युनान प्रान्तको कुन्मिङ सहरमा आयोजना हुने दोस्रो चीन दक्षिण एसिया व्यापार मेलामा विशेष अतिथिका रूपमा भाग लिन त्यसतर्फ प्रस्थान गरेका छन् ।
चीन सरकारको निमन्त्रणामा ३३ सदस्यीय भ्रमण टोलीको नेतृत्व गर्दै विशेष विमानबाट उनी चीन प्रस्थान गरेका हुन् ।
भ्रमण टोलीमा विभिन्न राजनीतिक दलका प्रतिनिधि एवम् सभासद्हरू, प्रधानमन्त्रीका सल्लाहकारहरू, उच्चपदस्थ सरकारी अधिकारी र चीनका लागि नेपाली राजदूत सम्मिलित छन् ।
प्रधानमन्त्री कोइरालाले चीनमा रहँदा चीनका उपप्रधानमन्त्री वाङ याङलगायत विभिन्न देशबाट आएका आफ्ना समकक्षीहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
चीनको युनान प्रान्तको कुन्मिङमा यही जेठ २३ देखि २७ गतेसम्म दोस्रो चीन–दक्षिण एसिया व्यापार मेला हुन लागेको हो ।
दक्षिण एसिया र दक्षिया पूर्वी एसियाका नेताहरू सहभागी हुने उक्त मेलाको उद्घाटन समारोहमा प्रधानमन्त्री कोइरालाले ‘विशेष अतिथि’का रूपमा सम्बोधन गर्ने कार्यक्रम छ । मेलामा नेपाली कक्ष समेत रहेको छ । त्यसको पनि प्रधानमन्त्री कोइरालाले उद्घाटन गर्ने कार्यक्रम छ ।
प्रकाशित मिति:
June 05, 2014