सदस्यसचिव लामाको पुनः पदबहाली
काठमाडौँ, २० जेठ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव युवराज लामाले मंगलबार पुनः सदस्यसचिवको पदबहाली गरेका छन् ।
सर्वोच्च अदालतले हिजो सोमबार सदस्यसचिव लामालाई जेठ २६ गते सोमबारसम्म नहटाउन र यथास्थितिमा राख्न अन्तरिम आदेश जारी गरेपछि लामाले आज पुनः पदबहाली गरेका हुन् ।
यही जेठ २ गते शुक्रबार युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले सोही मन्त्रालयका सहसचिव चुडामणि पौडेललाई निमित्त सदस्य सचिवमा नियुक्त गरेका थिए ।
पदबहालीपछि सदस्य सचिव लामाले सर्वोच्च अदालतको फैसलाले आम खेलकुद क्षेत्रले न्याय पाएको भन्दै आगामी दिनमा खेलकुदमन्त्रीसँग सहकार्य गरेर खेल र खेलाडीको हितमा काम गर्ने बताए ।
सदस्यसचिव लामाले यसअघि आफ्नो ३५ महिनासम्मको कार्यकालमा पार्टीगत हिसाबले नगई आम खेलकुद क्षेत्रको हितका लागि निःस्वार्थ रुपमा काम गरेको बताउँदै आगामी सोमबार सर्वोच्च अदालतले जे फैसला गरे पनि आफूले मान्य हुनेछ भने ।
प्रकाशित मिति:
June 03, 2014