विश्वकपमा खेलाडीलाई यौनसम्पर्क राख्न अमेरिकाद्धारा खुल्ला, ब्राजिल जर्मनीको प्रतिबन्ध
रियो द जेनेरियो– विश्व फुटबलको ठूलो प्रतियोगिता विश्वकप आउन चार दिन बाँकी रहँदा सहभागी ३२ देशले खेलाडीको यौनसम्बन्धबारे फरक नीति लिएका छन्। अमेरिकाले प्रतियोगिताक्रम खेलाडीलाई यौनसम्पर्क राख्न लागि खुला गरेको छ भने ब्राजिल, जर्मनीलगायतले यौनमा प्रतिबन्ध लगाएका छन्।
'मेरो विचारमा हामी यौनको मामलामा खुला छौं। खेलाडीका श्रीमती वा प्रेमिका खेलक्रम आउन सक्छन्। उनीहरू होटलमा पनि आउन सक्छन्। हामी होटलमा सँगै बार्बिक्यु गर्न सक्छौं,' अमेरिकी प्रशिक्षक योर्गान क्लिन्सम्यानले भने, 'हरेक देशको अवस्था फरक हुन्छ। मैले धेरै देशमा व्यावसायिक फुटबल खेलेँ। कतिपय अवस्थामा खेलाडीले आफ्नी प्रेमिका वा श्रीमतीलाई दुई महिनासम्म पनि देख्न पाउँदैनन्। इटालीमा यस्तो समस्या बढी हुन्छ। त्यसैले विश्वकपक्रम खेलाडीमा कुनै कुण्ठा बाँकी नरहोस् भन्ने हाम्रो उद्देश्य हो। तर मैदानमा हामी गम्भीरतापूर्वक खेलमै केन्द्रित हुनेछौं।'
पोर्चुगल, जर्मनी र घानासमेत रहेको कठिन समूहमा परेको अमेरिकी टोलीका खेलाडीले ब्राजिलमा रमाइलो मनाउने मौका बेडरुममा मात्र पाउन सक्छन्। त्यसैले क्लिन्सम्यानले बनाएको यौनसम्बन्धी यो रणनीति खेलाडीको मनोबल उच्च पार्न अर्थपूर्ण हुने अपेक्षा गरिएको छ।
मेक्सिकोका प्रशिक्षक मिगुअल हेरेराले भने विश्वकपको २० दिनअघिसम्म खेलाडीलाई यौनका लागि खुला छोडे पनि त्यसयता पावन्दी लगाएका छन्। यौन सम्पर्कबिनाको ४० दिनले कसैलाई कुनै खराब असर नगर्ने उनको दाबी छ।
साविक विजेता स्पेन र क्लिन्सम्यानको देश जर्मनीले खेलअघि यौनसम्पर्क राख्नमा खेलाडीलाई कडा प्रतिबन्ध लगाएका छन्। तर आरामका अन्य दिनमा भने प्रेमिका वा श्रीमतीसँगको सम्बन्धलाई खुला छाडिएको छ। गत वर्ष अन्तरमहादेशीय कपमा प्रशिक्षक भिसेन्टे डेल बोस्कीले यौनमा प्रतिबन्ध लगाए पनि ब्राजिलमा टिम बसेकै होटलमै स्पेनका खेलाडीले वेश्या बोलाएर सम्पर्क गरेको समाचार सार्वजनिक भएको थियो।
बोस्निया एन्ड हर्जगोभिनाका प्रशिक्षक साफेत सुसिकले ब्राजिलमा खेलाडीलाई यौनमा कडा प्रतिबन्ध लगाएका छन्। टोलीभित्र सेनाको जस्तो अनुशासन कायम गरेका प्रशिक्षकले पार्टनरसँगको सम्पर्कमा बन्देज लगाए पनि हस्तमैथुनका लागि भने खेलाडीलाई खुला छोडेका छन्। 'ब्राजिलमा हामी टोलीका कुनै पनि खेलाडीबाट यौनको चाहना राखेको सुन्न चाहन्नौं। कसैलाई अत्यन्तै यौनको चाहना भए उसले हस्तमैथुनबाट काम चलाउन सक्छ,' उनले भनेका छन्।
यसैगरी चिलीले यौन र सफ्ट ड्रिंक दुवैमा प्रतिबन्ध लगाएको छ भने आयोजक ब्राजिलका खेलाडीलाई सामान्य यौन कार्यका लागि खुला छाडिएको छ। तर ब्राजिली खेलाडीलाई पनि टिम नेतृत्वले यौनमा धेरैखाले प्रयोग भने नगर्न सुझाएको छ।
फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्पले आफ्ना खेलाडीलाई यौनमा पूर्ण प्रतिबन्ध नलगाए पनि कहिले, कहाँ र कति जस्ता प्रश्नको आफै उत्तर खोज्न भनेका छन्। इङ्ल्यान्डका प्रशिक्षक रोय हड्सनले अहिलेसम्म यस विषयमा कुनै नीति बनाइसकेका छैनन्। १९९४ को विश्वकपमा स्विट्जरल्यान्डको टोली सम्हाल्दा उनले सुरुमा खेलाडीलाई यौनसम्पर्क नराख्न कडा निर्देशन दिएका थिए। तर प्रतियोगिता सुरु हुने बेलासम्म विचार परिवर्तन गरेका उनको टोली त्यतिखेर समूह 'ए' को उपविजेता बन्दै नकआउट चरण प्रवेश गरेको थियो। स्विट्जरल्यान्ड आयोजक अमेरिकालाई पछि पार्दै अगाडि बढेको थियो। त्यसैले यसपालि पनि उनले यौनमा तटस्थ रहने सम्भावना रहेको बताइएको छ। साभारः नागरिक दैनिक
प्रकाशित मिति:
June 10, 2014