ग्रामीण क्षेत्रका अधिकांश महिला आङ खस्ने रोगबाट पीडित
झापा २६ असोज । दक्षिणी झापाको ग्रामीण क्षेत्रका अधिकांश महिला आङ खस्ने रोगबाट पीडित बनेको पाइएको छ ।
झापाको कन्काई नगरपालिकास्थित सुरुङ्गामा रहेको मेरिगोल्ड अस्पतालले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा स्वास्थ्य परीक्षण गराएका अधिकांश आदिवासी समुदायका महिलामा यस्तो समस्या पाइएको हो ।
आदिवासी समुदायको बाहुल्यता रहेको टाघनडुब्बा, डाँगीबारी, घेरावारी कामाटोली, पाँचगाछी, सतासीधाम, शरणामती, तोपगाछी, शिवगञ्जलगायतका गाविसमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा आएका महिलामध्ये धेरैमा आङ खस्ने, निःसन्तानपन र पाठेघरमा समस्या भेटिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा आरएन सङ्ग्रौलाले बताए ।
दैनिक ज्याला मजदुरी गरी जीविकोपार्जन गर्दै आएका गरिब तथा विपन्न समुदायका महिलामा चेतनाको कमीका कारण पनि यस्तो समस्या भेटिएको डा सङ्ग्रौलाको भनाइ छ ।
सहजरूपमा स्वास्थ्य सेवा लिन नसकेका विपन्न समुदायलाई लक्षित गरी आयोजना गरिएको शिविरमा पाँचसय बढी स्थानीयको स्वास्थ्य परीक्षण गरिएको थियो । जसमध्ये ५० जना महिलामा आङ खस्ने, ४० बढी महिलामा पाठेघरको समस्या भेटिएको र केही महिला तथा पुरुष दुवैमा निःसन्तानपनको समेत समस्या देखिएको डा. सङ्ग्रौलाले जानकारी दिए ।
शिविरमा आएका आङ खस्ने र पाठेघरको समस्याबाट पीडित महिलालाई अस्पतालमा राखेर निःशुल्क शल्यक्रिया गरिने अस्पतालका कर्मचारी गोपाल चुडालले जानकारी दिए ।
शिविरमा बालरोग विशेषज्ञ डा. चन्द्रभूषण झा, आँखा–कान–नाक रोग विशेषज्ञ राजीव साह, छाला तथा यौनरोग विशेषज्ञ डा. विक्रान्त ढकाल, हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा. अबुल कलाम, मुटुरोग विशेषज्ञ डा. अनिल बस्नेतलगायतले सेवा प्रदान गरेका थिए ।
रु दुई करोड रुपैयाँ बढीको लागतमा २०६८ सालमा स्थापित सो अस्पतालले यसअघि इलामका महमाई, दानावारीलगायतका गाविसमा समेत निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको बताइएको छ । रासस
प्रकाशित मिति:
October 12, 2014