खुम्बु क्षेत्रमा उद्धार टोली गठन
सोलुखुम्बु, २ कात्तिक । खुम्बु क्षेत्रमा रहेको पर्यटकीय यामलाई ध्यान दिएर सात सदस्यीय उद्धार टोली गठन गरिएको छ ।
सगरमाथा सेवा समाज नाम्चे सोलुखुम्बुको आयोजनामा नाम्चेमा भएको बैठकले गेलबहादुर थापामगरको संयोजकत्वमा सात सदस्यीय उद्धार टोली गठन गरेको हो । सो टिम ट्रेकिङ भरिया तथा पर्यटकलाई उचाइमा कुनै समस्या देखिएमा तत्कालै उद्धार गरी उपचारको व्यवस्था मिलाउने उद्देश्यका साथ गठन गरिएको संयोजक थापामगरले जानकारी दिए ।
सो टोलीले खुम्बुमा टे«किङ मौसमभर चौंरीखर्क गाविसको लुक्लादेखि नाम्चे र खुम्जुङ गाविसको विभिन्न क्षेत्रमा निरन्तररूपमा सेवा प्रवाह गर्ने निर्णय बैठकले गरेको छ । उचाइमा विभिन्न समस्या आउँदा पर्यटकलाई तत्काल उद्धार नपाएकै कारण ज्यानसमेत जाने गरेको कारण उद्धार टोली गठन गरिएको जनाइएको छ ।
यसैबीच, सगरमाथा सेवा समाज नाम्चे सोलुखुम्बुले काठमाडौँ कालोपुल निवासी सलिना खड्काको उपचारको निम्ति रु ११ हजार ५०० सङ्कलन गरेर पीडितको खातामा जम्मा गरिदिएको छ ।
पेटमा ट्युमर भई ग्राण्डी अस्पताल काठमाडौँमा उपचार गरिरहनुभएका खड्काको परिवारले आर्थिक स्थिति कमजोर भएको भन्दै विभिन्न सञ्चारमाध्यमबाट आर्थिक सहयोगको अपेक्षा गरेका थिए ।
प्रकाशित मिति:
October 19, 2014