अस्पतालमा रगतको चरम अभावले उपचारमा समस्या

नेपाल रेडक्रस सोसाइटीको रक्तसञ्चार विभागले अस्पतालमा रगतको अभावले समस्या आएको सूचना जारी गरेपछि नेवाः पुचः इटहरीले आज रक्तदान कार्यक्रमको आयोजना गरेको छ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ओ पोजेटिभबाहेक अरू ग्रुपको रगत पूरै निल रहेको प्राविधिक सुरेन्द्रप्रसाद साहले जानकारी दिए ।
प्रतिष्ठानमा सरदर दैनिक ३० देखि ५० पिन्ट रगत खपत हुनेमा चाडबाडको समयमा कहिँबाट पनि रगत नआएपछि कतिपय गर्भवती महिलाको शल्यक्रिया गर्नलाई समेत कठिनाइ उत्पन्न भइसकेको थियो ।
त्यसैगरी अर्को धेरै बिरामीको चाप हुने नोबेल मेडिकल अस्पताल, कोसी अञ्चल अस्पताल तथा न्युरो अस्पतालमा पनि रगतको पूरै अभावले बिरामीको जटिल उपचारमा कठिनाइ परिरहेको बताइएको छ ।
नेवाः पुचः इटहरीले रक्तदान कार्यक्रमको आयोजना गरेपछि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रक्त सञ्चार विभागमा जम्मा हुने गरी कात्तिक २२ गते दुई स्थानमा र कात्तिक २९ गते चार स्थानमा रक्तदानसम्बन्धी कार्यक्रम राखिएको पनि प्राविधिक साहले जानकारी दिए ।
उनले अब भने प्रतिष्ठानमा रगतको अभाव सहज बन्ने जानकारी दिए ।
प्रकाशित मिति:
November 06, 2014