बङ्गलादेशको एक टेलिभिजन सरकारद्धारा बन्द, घरबाटै सञ्चालक पक्राउ
बङ्गलादेशमा सरकारी अधिकारीहरुले त्यहाँको एक टेलिभिजन बन्द गर्न आदेश दिएका छन्। साथै सो टिभीका मालिकलाई पनि पक्राउ गरिएको छ।
बङ्गलादेशमा पछिल्लो केही दिनयता आन्दोलन जारी रहेको छ। सो आन्दोलनका कारण सरकारले सञ्चारमाध्यमहरुमाथि पनि बक्र दृष्टि लगाएको अधिकारवादीहरुले जनाएका छन्।
बङ्गलादेशको एक निजी टेलिभिजन संस्था इटिभीको प्रसारण मङ्गलबार बिहानदेखि नै बन्द गराइएको सो टिभीका एकजना सम्पादकले जानकारी दिएका छन्।
उनका अनुसार सो टिभीका मालिकलाई प्रहरीले कार्यालयमै आई पक्राउ गरेको छ भने कुनै पनि सामग्री प्रसारणमा प्रतिबन्ध लगाइएको जनाइएको छ।
बङ्गलादेशमा विपक्षी दलले गत आइतबारदेखि सरकार विरुद्ध आन्दोलन सुरु गरेको छ। सो आन्दोलनका क्रममा विपक्षी नेत्री खालिदा जियालाई उनकै कार्यालयमा नजरबन्दमा राखिएको छ।
विपक्षी नेत्री जियाका छोराको भनाइ प्रसारण गरेको आरोपमा सो टिभी बन्द गराइएको विपक्षीहरुले जनाएका छन्।
आइतबारदेखि राजधानी ढाकामै रहेको विपक्षी दलको कार्यालयमा विपक्षी नेतालाई थुनेर राखिएको छ र उनका छोरा पनि उनीसँगै छन्।
विपक्षी नेतो हसिनाका छोराले नजरबन्दबाटै सरकारका विरुद्धमा आफ्नो धारणा राख्नुभएको थियो । यसरी सरकार विरोधी भनाइ प्रसारण गरेको भन्दै सो टेलिभिजन बन्द गराइएको समाचारमा उल्लेख छ ।
तर प्रहरीले भने उक्त टिभीले अश्लिल खालका दृश्यहरु प्रसारण गरेकोले बन्द गराउनुपरेको धारणा राखेका छन् । सो टेलिभिजनका सम्पादकहरुले सरकारको उक्त भनाइलाई चुनौती दिँदै यदि त्यस्तो कुनै अश्लिल सामग्री हामीले प्रसारण गरेका छौँ भने त्यसको प्रमाण देखाउन भनेका छन्।
सरकारले विपक्षी दलको आन्दोलनको प्रचार गर्ने सञ्चारमाध्यममाथि निगरानी राख्न थालेको आरोप विभिन्न अधिकारवादीहरुले लगाएका छन् ।
प्रदर्शनमा चारको मृत्यु
बङ्गलादेशमा विपक्षी दलले सोमबार गरेको आन्दोलनका क्रममा मारिने व्यक्तिको सङ्ख्या चार पुगेको छ । राजधानी ढाकामा पनि व्यापक आन्दोलन भएको छ।
जसका कारण सोमबार कम्तीमा पनि चारजना प्रदर्शनकारी मारिएका बताइएको छ । मङ्गलबार पनि आन्दोलन जारी रहेको छ । राजधानी ढाकामा नै मङ्गलबार आन्दोलन जारी राखिएको समाचारमा उल्लेख छ ।
बङ्गलादेशमा गत वर्ष भएको आमनिर्वाचनको एक वर्ष पूरा भएको विरोधमा विपक्षी दलले आन्दोलन सुरु गरेको हो । सो निर्वाचन कम्तीमा पनि २२ वटा विपक्षी दलले बहिष्कार गरेका थिए ।
उक्त निर्वाचनलाई बहिष्कार गरेको जियाको दलले आइतबारदेखि सो आन्दोलनको आह्वान गरेको हो । जियाले सोमबार ‘प्रजातन्त्रको हत्या भएको दिन’ घोषणा गरी आफ्ना सम्पूर्ण कार्यकर्तालाई प्रदर्शनका लागि आह्वान गरेकी थिइन्।
सोमबार बङ्गलादेशको उत्तरी सहर नातोरमा सरकारी र विपक्षी दलका कार्यकर्ताबीच भिडन्त भएको थियो । सो भिडन्तमा परी विपक्षी दलका कार्यकर्ता मारिएका हुन् । रासस\एएफपी
प्रकाशित मिति:
January 06, 2015