मिल्नेजति विषयमा सहमति गरौं र जनतासँग माफी पनि मागौं : प्रचण्ड
माघ ३ । एमाओवादी मिल्नेजति विषयमा सहमति गरी नमिलेका मुद्दामा छलफल गर्दै जाने रणनीतिमा पुगेको छ । प्रमुख विपक्षी एमाओवादीले माघ ८ को समयसीमाभित्र सहमति प्रयास जारी राख्न कांग्रेस र एमालेलाई आग्रहसमेत गरेको छ ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले शुक्रबार दिउँसो संविधानसभा भवनमा प्रमुख दलका शीर्ष नेताको बैठकमा हतारमा प्रक्रियामा गएर सहमतिको ढोका बन्द गर्नुभन्दा सहमति गर्न सकिने विषयमा छलफल गर्न आग्रह गरेका थिए । 'जति विषयमा सहमति गर्न सकिन्छ, ती विषयमा सहमति गरेर जाऔं,' दाहालको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, 'सहमति हुन नसकेका विषयमा जनतालाई जानकारी दिऔं र जनतासँग माफी पनि मागौं । त्यसो गर्दा सहमतिमा पुग्न सकिन्छ ।'
एमाओवादीसहितका विपक्षी दलले कांग्रेस, एमालेको बहुमतीय प्रक्रियाबाट संविधान निर्माण गर्ने प्रक्रिया रोक्न संविधानसभा र सडकमा दबाब सिर्जना गरिरहेका बेला दाहालबाट यस्तो प्रस्ताव आएको हो । यो प्रस्तावबारे प्रधानमन्त्री सुशील कोइरालाले छलफल गर्न सकिने आश्वासन दिएका छन् ।
कांग्रेस र एमालेले संविधानसभामा प्रक्रिया सुरु भए पनि सहमतिका लागि आफूहरू खुला रहेको बताइरहेकै बेला एमाओवादीले अझै समझदारी प्रयास गर्न जोड दिएको कान्तिपुर दैनिकमा खबर छ ।
प्रकाशित मिति:
January 17, 2015