भारतबाट इन्धन आउन ठप्प
कात्तिक २० काठमाडौं । भारतीय सिमाबाट इन्धन आउन ठप्प भएको छ । नयाँ संविधान जारीपछि असन्तुष्ट बनेको भारतले पेट्रोल डिजेल तथा अन्य सामग्री सिमाबाट ल्याउन अवरुद्ध गर्दा पछिल्लो पटक सिमाबाट इन्धन आउन नै छाडेको छ ।
नेपालको आन्तरिक समस्या भन्दै भारतले नाकाबन्दी लगाएपछि देशभरी नै असर परेको छ । विश्व समुदाय तथा भारतकै कतिपय बुद्धिजिविले समेत भारतीय नाकाबन्दीको विरोध गरिरहँदा पनि भारतको नाकाबन्दी हटाएको छैन ।
विराटनगर भन्सार अधिकृत राजेन्द्र ढुङ्गानाले भारतीय पक्षको अबरोधका कारण जोगवनी नाकाको आयात ठप्प भएको बताएका छन् ।
शुक्रबार बिहान जोगवनी नाकाबाट तीन वटा मालबाहक ट्रकमात्रै नेपाल भित्रिएका छन् । भारतले नाकामा अवरोध गरेपछि नेपाल भित्रनेक्रममा रहेका इन्धनका ट्याङकरहरू पनि नाकामै अड्किएर रहेका छन् ।
आयात रोकिएको बारे गुनासो गर्न गएको नेपाली टोलीसँग भारतीय पक्षले सकरात्मक कुराकानी समेत गर्न नचाहेको स्रोतले जनाएको छ । नेपाल आयल निगम क्षेत्रीय कार्यालय विराटनगरले अहिलेसम्म नेपालका कुनै पनि नाकाबाट भारतले इन्धन दिएको खबर नआएको जनाएको छ ।
यसैबीच, हवाइ इन्धनको अभावका कारण आइतबारदेखि निजी विमान कम्पनीका आन्तरिक उडान बन्द हुने भएका छन् ।
नेपाल आयल निगम हवाइ इन्धन डिपो प्रमुख प्रदीप यादवले इन्धन अभावका कारण आइतबारदेखि सरकारी ध्वजाबाहक नेपाल एयरलाइन्सको उडानमात्रै सुचारु हुने बताए ।
अहिले डिपोमा १४० किलोलिटर मात्र हवाइ इन्धन मौज्दात छ । आयल निगमले शनिबार ५० प्रतिशत मात्रै इन्धन उपलब्ध गराउने, तर आइतबारदेखि तेल दिन नसक्ने जनाएकाले आइतबारदेखि आन्तरिक उडान बन्द हुने यादवले बताए ।
प्रकाशित मिति:
November 06, 2015