नाकाबन्दी र आन्दोलनले बालबालिकाको सुरक्षामा गम्भीर खतरा
कात्तिक २४ । बालबालिको हक अधिकारका क्षेत्रमा क्रियाशिल विभिन्न संघ संगठन तथा निकायले भारतीय नाकाबन्दी र मधेस आन्दोलनले बालबालिकको सुरक्षामा गम्भीर सुरक्षा चुनौती उत्पन्न भएको बताएका छन् ।
उनीहरुले तत्कालिन समस्या चाँडो समाधान नगरेमा बालबालिकामा हिंसात्मक संस्कृत बढ्ने तथा आपराधिक क्रियाकलापको बढावा हुने भन्दै चिन्ता व्यक्त समेत गरेका छन् ।
३ महिनादेखी तराइका विद्यालय बन्द भएको, आन्दोलनमा बालबालीकालाई सामेल गराइएको, बालगृहमा इन्धन अभावका कारण समस्या भएको भन्दै उनीहरुले समस्या समाधानको लागि तत्कालै पहल गर्न सरकारको ध्याकर्षण पनि गराएका छन् ।
केन्द्रीय बाल कल्याण समितिको आयोजनामा राजधानीमा मंगलबार आयोजित एक कार्यक्रमका सहभागीहरुले नाकाबन्दी तथा आन्दोलनका कारण बालबालिको सुरक्षामा नै चुनौती थपिएको उल्लेख गरेका हुन् ।
विभिन्न मन्त्रालयका प्रतिनिधि, मावनअधिकारवादी संघ संस्था, युनिसेफ लगायत संघ संगठनका प्रतिनिधिले बालबालिकाको सुरक्षाका लागि नाकाबन्दीले उत्पन्न बालबालिकाको अवस्थाबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउन ढिला भएको समेत जनाएका छन् । विभिन्न संघ संगठनहरु संयुक्त अनुगमन टोली गठन गरेर बालबालिकाको हक अधिकारको हकहितका लागि काम थाल्न पनि सहमत भएका छन् ।
केन्द्रीय बाल कल्याण समितिका कार्यकारी अधिकृत तारक धितालले तीन महिनादेखि तराई क्षेत्रका विद्यार्थी पढाईबाट समेत वञ्चित भएको उल्लेख गरे ।
शिक्षा विभागकी उपनिर्देशक कमला ज्ञवालीले विद्यालयलाई कुनै बहानामा बन्द गर्न नहुने भन्दै भारतीय नाकाबन्दी र मधेस आन्दोलनले बालबालिकालाई उनीहरुको नैर्सिगक अधिकारबाट नै वञ्चित गराएको उल्लेख गरिन् ।
राष्ट्रिय मानव अधिकार आयोगकी मञ्जु खतिवडाले राजनीतिक मागका कारण बालबालिकाको अधिकार खोसिनु दुःखद भएको भन्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण गराइसकिएको जानकारी दिइन् ।
नेपालमा हाल १ देखि कक्षा १० सम्म पढाई हुने जम्मा ३५ हजार २ सय २३ विद्यालय रहेका छन् । जसमध्ये तराईका जिल्लाहरुमा मात्र ११ हजार १ सय १८ विद्यालयमा ७५ लाख ४२ हजार ३९३ विद्यार्थी रहेका छन् । उनीहरु तीन महिनादेखि पूर्ण तथा आंशिक रुपमा शिक्षा लिनबाट वञ्चित छन् ।
प्रकाशित मिति:
November 18, 2015