नेता गजरेलले भने- 'एमाओवादीसँग पनि एकता नगर्ने भन्ने होइन'
काठमाडौं २८ पुस । नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले एमाओवादीसँग पार्टी एकीकरण हुनका लागि विचार मिल्नुपर्ने बताएका छन् ।
नेता गजुरेलले विचार नमिले एमाओवादीसँगको एकताको विषय आत्मरती मात्रै हुने पनि स्पष्ट पारे ।
वैद्य माओवादीसम्बद्ध पत्रकार संगठन क्रान्तिकारी पत्रकार महासंघ र नेकपा एकीकृत सम्बद्ध पत्रकार संगठन प्रगतिशील पत्रकार समाजबीचको मंगलबार कुपण्डोलमा भएको एकता भेलाको उद्घाटन गर्दै गजुरेलले यस्तो स्पष्ट पारेका हुन् ।
पार्टीका अध्यक्ष मोहन वैद्यसहितका पदाधिकारीहरुले नै एकीकृत माओवादीसँगको एकताको प्रक्रिया अघि बढिरहेको बताइरहेका बेला गजुरेलले भने विचार मिल्नै पर्नेमा जोड दिएका हुन् ।
‘हामी फुटवादी मात्रै होइन, जुट्न पनि जानेका छौं भन्ने नेकपा एकीकृतसँगको एकताबाट प्रमाणित भएको छ,’ गजुरेलले भने, ‘एमाओवादीसँग पनि एकता नगर्ने भन्ने होइन, तर विचार मिल्नु प¥यो ।’
जनयुद्धको शुरुको बेलाको अवस्थामा आफूहरु आइपुगेको भन्दै उनले अब सानो सानोबाट उठ्नुपर्नेमा जोड दिए । ढाँट्नका लागि कम्युनिष्ट बनेका होइनौं गजुरेलले आफूहरु जनतालाई ढाँट्नका लागि कम्युनिष्ट नभएको बताए ।
‘केपी ओलीले अब ग्यास सिलिण्डर होइन, पाइपबाटै ग्यास पठाइदिन्छु भन्छन्’, गजुरेलले भने, ‘हामी ढाँट कुरा गर्न कम्युनिष्ट बनेका होइनौं ।’ उनले ठूला मिडियाहरुले आफूहरुको समाचार नै लेख्न छाडेको गुनासो गरे । आफूहरुका कार्यक्रममा पत्रकारहरु भरिभराउ हुने र फोटो खिचेर मात्रै लैजाने गरे पनि प्रकाशन प्रशारण नगर्ने गरेको गजुरेलले दुखेसो पोखे ।
कार्यक्रममा माओवादी प्रवक्ता पम्फा भुसालले क्रान्तिकारी योजना, राष्ट्रिय स्वाधीनता र जनताको मुक्तिको विषय पछि परेको भन्दै चिन्ता व्यक्त गरिन् ।
उनले अहिलेको अवस्थामा एकता र ध्रुविकरणको आवश्यकता परिरहेको भन्दै अब नयाँ पार्टी निर्माण गरेर अघि बढ्नुपर्नेमा जोड दिइन् ।
उनले क्रान्तिकारी पार्टीलाई झकझकाउने र जनतलाई सुसुचित गर्नेमा पत्रकार महासंघ अघि बढ्नुपर्ने सुझाव दिइन् ।
एकता भेलाले चैत्र १९, २० र २१ गते क्रान्तिकारी पत्रकार महासंघको राष्ट्रिय सम्मेलन गर्ने निर्णय समेत गरेको छ । भेलाले कुमार शाहको संयोजकत्वमा एक सम्मेलन आयोजक समिति समेत गठन गरेको छ ।
प्रकाशित मिति:
January 12, 2016