खाने तेल कालोबजारी गर्ने दुगडका म्यानेजर थुनामा
काठमाडौं २० पुस । जिल्ला अदालतले तेल खाद्यान्न लगायत अत्यावश्यक वस्तुमा कालोबजारी गरेको आरोपमा दुगड कम्पनीका म्यानेजरलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।
अदालतका न्यायाधीश दीपेन्द्र अधिकारीको एकल इजलासले खाने तेललगायत वस्तुमा कालोबजारी गरेको आरोपमा अमन जैन र प्रमोदराज अधिकारीलाई थुनामा राख्न आदेश दिएको हो । भारतले लगाएको अघोषित नाकाबन्दीका कारण दैनिक उपभोग्य वस्तुमा कालोबजारी बढेको भन्दै उपभोक्ता हित संरक्षण मञ्चले रिट निवेदन दर्ता गरेको थियो ।
मञ्चका अध्यक्ष ज्योति बानियाँले अदालतले ज्योति गुप्रका सञ्चालक केशवलाल दुगड, विकास दुगड, नरेश दुगडलगायत अन्य नौ जनालाई पक्राउ पुर्जी जारी गरेको जानकारी दिएको राष्ट्रिय समाचार समितिले उल्लेख गरेको छ ।
कालोबजारी गर्नेलाई १० वर्ष जेल सजाय र भेटिएको सामान जफत गरी राज्यको ढुकुटीमा हाल्ने कानुनी प्रावधा रहेको छ ।
यसअघि, जिल्ला न्यायाधिवक्ताको कार्यालयले खानेतेलमा कालोबजारी गरेको आरोपमा दुगड समूहका अध्यक्ष किशनलाल दुगडसहित एघार जना विरुद्ध काठमाडौं जिल्ला अदालतमा करिब १४ करोड रुपैयाँ विगो र १० वर्ष कैद सजायको मागदावीसहित कालोबजारी र ठगी मुद्धा दर्ता गरेको थियो ।
मुद्धा दायर गरिएका एघार मध्ये ९ जना फरार रहेका छन् । यो समूहका अध्यक्षसहित संचालक प्रहरीको कारवाही अघि नै भारत पुगेको जनाइएको छ ।
भारतले लगाएको नाकाबन्दीको मौका छोप्दै यो समूहले खाने तेलको मूल्य दिनदिनै बढाएर उपभोक्ता ठगी गरेको थियो ।
भारतले लगाएको नाकाबन्दीमा यो समूहले १ सय २० रुपैयाँमा पाउने एक लिटर तेलको मूल्य बढाएर ३ सय २० रुपैयाँमा बिक्री गरेको थियो ।
यो समूहलाई छुटाउन ठूलो शक्ति लागिरहेको जनाइएको छ । नाकाबन्दीमा खाने तेलको प्याकमा नै मूल्य बढाएर बेच्ने यो समूहलाई जोगाउन राजनीतिक नेतृत्व समेत सक्रिय रहेको बताइन्छ ।
प्रकाशित मिति:
January 04, 2016