नेशनल ट्रेडिङमा आफन्तलाई छानीछानी फुल ट्याङ्की, अनियमितताले सिमा नाघ्यो
काठमाडौं १७ पुस । टेकुस्थित नेशनल ट्रेडिङ पेट्रोल पम्पमा इन्धन वितरणमा मनलाग्दी र लापरबाहीले सिमा नाघेको छ । नाकाबन्दीपछि सर्वसाधरणले तिहार अगाडी एक पटक र तिहार पछाडी एक पटक मात्रै इन्धन पाएका छन् तर सरकारी स्वामित्वको उक्त पेट्रोल पम्पमा पहुँच हुनेहरुले मागे जति नै इन्धन पाईरहेका छन् । पम्पका कर्मचारी र प्रहरी प्रशासनको मिलेमतोमा पेट्रोल तथा डिजेल वितरणमा मनलाग्दी भईरहेको हो ।
पेट्रोल पम्पको पछाडीको भागबाट पहुँचवालाहरुले फुल ट्यांकी भर्दै दिनहुँ जसो लाने गरेको स्रोतको दाबी छ । पम्पमा काम गर्ने हामिकदेखि सानातिनो कर्मचारीका समेत आफन्त तथा चिनेजानेकाले अहिले सोही पेट्रोल पम्पबाट भनेजति पेट्रोल तथा डिजेल हालिरहेका छन् । पम्पका हाकिमहरुलाई नाकाबन्दी पछि दिनमा नै सयौँ फोन चिनेजानेकाबाटै आउने गरेको र पेट्रोल डिजेलका लागि नै आउने गरेको छ । त्यस्तालाई हाकिमहरुले कुपन दिँदै पठाईरहेका छन् ।
![]() |
यी असई गेटबाट बर्दी देखाएर लाइन नै नबसी पत्रकार कोटाको तेल हाल्न बसेका हुन् । उनले ड्युटीमा बसेका अन्य प्रहरीहरुलाई आँखा झिच्काउँदै पत्रकार कोटाको तेल हालेर गए । |
प्रहरीको पनि उत्तिनै हालिमुहाली उक्त पम्पमा भेटिएको छ । वैशाख १२ को महाभूकम्पले महानगरीय प्रहरी प्रभाग हनुमान ढोका अहिले पम्प नजिकै सरेको छ । पम्प नजिकै भएकाले सानोमा हवल्दारसम्मले बर्दी र पेशाको पावर प्रयोग गरेर आफन्तका सवारी लिएर फुल ट्यांकी हाल्दै पुर्याईदिने गरेका छन् ।
![]() |
यी व्यक्ति पनि लाइनमा नबसी पेट्रोल पम्प अगाडी पुगे, उनी हाकिमको आफन्त भएको बताउँछन् । तर फोनमा भने पेट्रोलको बार्गेनिंग गरिरहेका थिए, भन्दैथिए, यति लिटर तलाई, तिमीलाई अर्को पटक दिन्छु यस्तै यस्तै । |
पत्रकारहरुको लाइनका दिन समेत त्यस्ता प्रहरीको बिगबिगी देखिने गरेको छ । ५ बजेदेखि ३ बजेसम्म पत्रकारहरु लाइनमा बसीरहे पनि सो लाइनमा बस्दै नबसी सिँधै पम्पमा छिरेका एक असईले आफूले कहिल्यै हाल्न नपाएकाले हाल्न आएको बताए, तर ब्लुबुक देखाउन उनले मानेनन् । प्रहरी बर्दीमा नै वाकीटकीसहित छिरेका उनले नाम समेत खुलाएनन् । मन्त्रीपरिषद बैठकले गरेको निर्णय अनुसार आज पत्रकारलाई दिने लाइनमा प्रहरीहरु यसरी बस्नु ठिक हो भन्दा उनी बोल्न सकेनन् । उनी जस्तै अरु प्रहरी अधिकारीहरुको पनि इन्धनको लाइनमा ताती नै लाग्ने गरेको छ । पत्रकारहरुले रोक्न खोज्दा समेत प्रहरी जबरजस्ती छिर्ने गरेका छन् ।
कर्मचारी तथा अन्य आवश्यकिय क्षेत्रलाई इन्धन दिने पालोमा भने प्रहरीहरुले धर्काएर नै छिर्ने गरेको एक निजामती कर्मचारीले बताए । लाइनमा आउनुस् भन्दा ड्रेस देखेनौँ प्रहरी हुँ भन्दै धर्काउने गरेको गुनासो उनको छ ।
सरकारले पछिल्लो पटक अत्यावश्यकिय क्षेत्रका साथै सरकारी कर्मचारी, पत्रकार लगायतलाई पालोका हिसाबमा इन्धन दिने गरेको छ । त्यस्ता लाइनमा नजिकैका प्रहरीले आफन्तकको सवारी लिएर पटक पटक भरी दिने गरेको पाइएको हो । एक पटकमा पाँच लिटर मात्रै दिने भएकाले कतिपय प्रहरीले भने लाइनमा नै नबसी दोहोर्याई तेहेराई इन्धन हाल्ने गरेका छन् ।
साथीभाईको बाइकमा पेट्रोल हालि दिए बापत भने होटल रेष्टुरेष्टमा गएर बिल भिराउने गरेको त कसैले भने बाइक एक दिनका लागि भाडामा माग्ने गरेको समेत पाइएको छ ।
निकटस्थलाई फुल ट्यांकी
मन्त्रीपरिषद बैठकले नै हरेक शुक्रबार पत्रकार लागि बाइकलाई पाँच र गाडीलाई पन्ध्र लिटर पेट्रोल दिने निर्णय गरेको थियो । सोही बमोजिमको पालो शुक्रबार उक्त पेट्रोल पम्पमा मनलाग्दी भईरहेको छ । पत्रकार महासंघ काठमाडौंका अध्यक्ष गोविन्द चौलागाईले आफू निकटकाहरुलाई छानी छानी फुल ट्यांकी हाल्न निर्देशन दिने गरेका छन् । आज बिहान ५ बजेदेखि लाइनमा बसेर ३ बजे पाँच सयको पेट्रोल हालेर निस्किएका एक पत्रकारले मनलाग्दी पेट्रोल दिएकोप्रति दुःख व्यक्त गरे । 'म अगाडी एक साथी थियो, उसले गोविन्दलाई भन्यो, गोविन्दले पनि दिदी हालिदिनुस् उसको दुई वटा कार्ड छ भन्दै दबाब दियो, तेल हाल्ने दिदीले एक हजारको हालिदिइन्', उनले भने, 'मैले भन्दा भने यत्रो लाइन देख्नुहुन्न पछाडी भन्दै हप्काए ।'
पछिल्लो पटक काठमाडौंका अध्यक्षले आफन्त तथा चिने जानेकालाई मनलाग्दी पेट्रोल दिन थालेपछि उनको चर्को आलोचना हुने गरेको छ । कतिले नियम विपरित त्यसरी चिने जानेकालाई बढी र नचिनेकालाई नियम भन्दै कम तेल दिनु एक प्रकारको कालोबजारी भएको संज्ञा दिन थालेका छन् । तर, अध्यक्ष चौलागाईले भने हरेक हप्ता उहीँ नियत दोहोर्याउँदै आएका छन् ।
प्रकाशित मिति:
January 01, 2016