प्रदेश प्रमुख र प्रदेश राजधानीबारे सर्वदलिय बैठकमा सहमति जुटेन, सरकार र वाम गठबन्धनका आ–आफ्नै अडान
काठमाडौं २० पुस ।
प्रदेशको अस्थायी राजधानी तोक्ने र प्रदेश प्रमुखको नियुक्ति गर्ने विषयमा सर्वदलिय बैठकमा कुरा मिलेन । वाम गठबन्धनका नेताहरुले प्रदेशको अस्थायी राजधानी तोक्ने र प्रदेश प्रमुखको नियुक्ति गर्ने भन्दा पनि सत्ता हस्तान्तरण गर्न जोड दिएपछि बैठकमा कुनै सहमति नै जुट्न सकेन ।
प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा वाम गठबन्धनले सरकारले सत्ता हस्तान्तरणका लागि गर्नुपर्ने काम आफ्नो ढंगले चाँडो गर्न आग्रह गरेको छ ।
बैठकपछि नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले आवश्यक गृहकार्य गरेर प्रदेशको अस्थायी राजधानी तोक्ने र प्रदेश प्रमुखको नियुक्ति गर्ने बताए उनले राष्ट्रियसभाको निर्वाचनको मिति तोक्न सरकारले निर्वाचन आयोगसँग परामर्श गरी निर्णय गर्ने जानकारी दिए ।
नेकपा एमालेका उपाध्यक्ष भीमबहादुर रावलले नयाँ जनादेश आइसकेको अवस्थामा सत्ता हस्तान्तरणलाई ढिलाइ गर्ने तथा प्रतिनिधिसभाको समानुपातिकको परिणाम रोकाउने काम भएकामा आफूहरुले गम्भीर ध्यानाकर्षण गराएको जनाए ।
नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पनि निर्वाचनबाट प्राप्त जनादेशको सम्मान गर्दै सरकारले सत्ता हस्तान्तरणका लागि कुनै ढिलाइ आफूहरुलाई सैह्य नहुने अवगत गराएको जानकारी दिए ।
प्रकाशित मिति:
January 04, 2018