प्रहरी हाकिमको घरमा काम, कुन हाकिमका घरमा कति गुप्तचर ?
काठमाडौं १६ पुस ।
राज्यका लागि महत्वपूर्ण सूचना संकलन गर्न भर्ना भएका राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर) का कर्मचारीहरू हाकिमको घरमा घरेलु कामदारका रूपमा काम गर्दै आएका छन् । राष्ट्रिय अनुसन्धान विभागको विशेष सेवा नियमावलीमा नेता तथा हाकिमहरूले आफ्नो कर्मचारीलाई खटाउने कुनै प्रावधान छैन । नेपाल प्रहरी र सशस्त्र प्रहरीले विशेष कार्यविधि बनाएर अवकाशप्राप्त एआइजीहरूलाई परिचरको सुविधा खटाउँदै आएका छन् । तर, अनुसन्धान विभागमा त्यस्तो कुनै प्रावधान छैन । सोर्सफोर्सका आधारमा ५० भन्दा धेरै कर्मचारी सरकारको तलबमा नेता र हाकिमहरूको घरमा काम गर्दै आएका छन् ।
हाकिमको घरमा काम, तलब सरकारको
विभागका कर्मचारीलाई सूचना संकलनबाहेक अन्य कुनै पनि काममा पठाउने प्रावधान छैन । तर, सोर्सफोर्स र दबाबका भरमा उनीहरूलाई अनुसन्धान विभागबाट तलब दिएर हाकिमहरूको घरमा कामदारका रूपमा खटाइने गरेको छ । विभागको प्रमुखबाट देवीराम शर्माले अवकाश पाएको आठ वर्ष भइसकेको छ । तर, उनको घरमा रामनाथ चौधरी घरेलु कामदारका रूपमा कार्यरत छन् । सिपाहीदेखि नै शर्माको घरमा बसेका चौधरी सइमा बढुवा भइसकेका छन् । उनको जिम्मेवारी शर्माको घरमा घरेलु कामदारकै रूपमा सीमित छ । आफ्नो घरमा बसे पनि सइ चौधरीले विभागमा कामसमेत गर्दै गरेको शर्माको दाबी छ ।
कुन हाकिमका घरमा कति गुप्तचर ?
स्रोतका अनुसार विभागका प्रमुख दिलीप रेग्मी र एआइजीहरूले समेत तल्लो तहका कर्मचारीलाई आफ्नो घरमा काम लगाउँदै आएका छन् । अनुसन्धान विभागका पूर्वप्रमुख मोती गुरुङको घरमा विभागका दुईजना कर्मचारी काम गर्दछन् । यसैगरी, पूर्वप्रमुख हरिबाबु चौधरी, गोविन्द थापा, विष्णुराज पन्त, अशोकदेव भट्टको घरमा पनि एक–एकजना अनुन्धानका कर्मचारी घरेलु कामदारका रूपमा कार्यरत छन् । पूर्वडिआइजी सुखचन्द्र झाको घरमा दुईजना कर्मचारी कार्यरत रहेको स्रोत बताउँछ । झा मधेस छानबिन आयोगको सदस्य हुन् ।
घुसबाट चल्छन् प्रहरीका गाडी
तीन महिनाअघि महानगरीय प्रभाग इमाडोलका प्रहरीले घुस मागेको भन्दै प्रहरी मुख्यालयमा उजुरी प¥यो । प्रभागका प्रमुख इन्स्पेक्टर बोधराज रेग्मीलगायतका प्रहरीमाथि छानबिन गर्दा गाँजासहित पक्राउ परेका स्थानीय युवकसँग प्रभागका प्रहरीले आफ्नो गाडीका इन्धन खर्च भन्दै पैसा मागेको खुल्यो । प्रभागका लागि संगठनले गाडी दिए पनि इन्धन खर्च दिएको थिएन । त्यही समस्या देखाउँदै प्रहरीले सहयोगका रूपमा घुस मागेको थियो । प्रभागमा तल्लो तहका प्रहरीले पहिलेदेखि नै त्यसरी स्थानीयसँग इन्धनका नाममा पैसा लिँदै आएका थिए । -नयाँ पत्रिका दैनिकबाट
प्रकाशित मिति:
December 31, 2016