नेपाल चीन सैन्य अभ्यासको औपचारिक घोषणा

दुई देशबीच सैन्य क्षेत्रमा सहयोग विस्तार गर्ने उद्देश्यले नेपाल र चीनबीच सन् २०१७ मा संयुक्त सैन्य तालिम नेपालमा आयोजना हुन लागेको हो ।
चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता याङ युजुनले बेइजिङमा आयोजित पत्रकारसम्मेलनमा सन् २०१७ मा नेपाल र चीनबीच संयुक्त सैन्य तालिमबारे प्रारम्भिक वार्ता भएको बताए । सैन्य तालिमको यकिन मिति उपयुक्त समयमा घोषणा गरिने उनले पत्रकार सम्मेलनमा बताएका थिए । नेपाल पक्षले भने चीनसँग सैन्य अभ्यास नभई तालिममात्र हुन लागेको बताउने गरेको छ ।
चीनको मिलेर अघि बढ्ने चासो
चीनले नेपालसँग रणनीतिक र सैन्य मामिलामा मिलेर काम गर्न सकिने बताउँदै आएको छ । गत जुनमा नेपाल भ्रमणमा आएका चिनियाँ जनमुक्ति सेनाका उपप्रमुख एड्मिरल सन जियागुओले तत्कालीन रक्षामन्त्री भीम रावलसँगको भेटमा नेपालसँग सैन्य क्षेत्रमा सहकार्य र सहयोग बढाउन इच्छुक रहेको बताएका थिए ।
भारत, अमेरिकासँग नेपालको सैन्य अभ्यास
नेपालले केही वर्षयता दक्षिणी छिमेकी भारत तथा अमेरिकासँग संयुक्त सैन्य अभ्यास गर्दै आएको थियो ।
अन्नपूर्ण दैनिकको समाचार अनुसार गत अक्टोबर ३१ देखि नोभेम्बर १३ सम्म रूपन्देहीमा नेपाल र भारतका सैनिकबीच सूर्यकिरण १० नामक सैन्य अभ्यास सम्पन्न भएको थियो । नेपाल-भारत सैन्य अभ्यास समापनमा भाग लिन भारतीय स्थल सेनाध्यक्ष दलवीर सिंह नेपाल आएका थिए ।
त्यसअघि नेपाल र अमेरिकाबीच सन् २०१५ नोभेम्बर ३ देखि १७ दिनसम्म काठमाडौंको छाउनी, पोखरा, लुक्ला र सगरमाथाको आधारशिविरमा संयुक्त सैन्य अभ्यास सम्पन्न भएका थिए ।
प्रकाशित मिति:
December 30, 2016