स्ववियु निर्वाचनः वाल पेन्टिङ र पोस्टर टाँस्न मनाही, ए-फोर साइजमा मात्र उम्मेदवारको प्रचार
काठमाडौं १६ माघ
स्ववियु निर्वाचनमा अब भित्ता रंगाउन, पोस्टर टास्न तुल झुन्ड्याउन प्रतिबन्ध लगाइएको छ । यस्तै उम्मेदरवारहरुको नामावली ए फोर साइजको एक रंगीन कलरमा मात्र प्रचार प्रचार गर्न पाइने भएको छ ।
निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउनका लागि त्रिविले शनिबार जारी गरेको आचारसंहितामा यस्तो नियम राखिएको हो ।
त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि ‘निर्वाचन आचारसंहिता’ जारी गरेको हो ।
आचारसंहिताअनुसार निर्वाचनका क्रममा विद्यार्थी सङ्गठनले आफ्नो पक्षमा मत जुटाउनका लागि कुनै तडकभडक प्रचारप्रसार गर्न नपाउने भएका छन् ।
क्याम्पसको निर्वाचन समितिले क्याम्पसमा नै सबै उम्मेदवारलाई एउटै मञ्चमा राखी परिचयात्मक कार्यक्रम गरेर चुनावको आफैं प्रचारप्रसार गरिदिने विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका कार्यकारी निर्देशक गङ्गाबहादुर थापाले बताए ।
उनकाअनुसार आचारसंहितामा क्याम्पसको कम्पाउन्ड वालको बाहिर पट्टी, भित्र पट्टी र क्याम्पस परिसरमा वाल पेन्टिङ, निर्वाचनसम्बन्धी तुल, फ्लेक्स र कुनै पनि प्रकारको पोस्टर टाँस्न नपाइने व्यवस्था छ ।
यसैगरी, उम्मेदवारले आफ्नो निर्वाचन घोषणा पत्र र उम्मेदवारको नामावलीको ए फोर साइजको एक रङ्ग भएको पर्चा मात्रै प्रचारप्रसार गर्न पाउने र क्याम्पस हाताभित्र माइकबाट कुनै पनि प्रकारको प्रचारप्रसार गर्न नपाइने उल्लेख गरिएको छ ।
फागुन १४ गते हुने स्ववियु निर्वाचनमा पहिलो पटक त्रिविले २८ वर्षे उमेर हदबन्दी र मिश्रित निर्वाचन प्रणाली अपनाउन थालेको छ ।
प्रकाशित मिति:
January 29, 2017