नेपाली भूमि मिचेर भारतले बनायो दसगजामै पक्की सडक र नाला
महोत्तरी १६ माघ । भारतले नेपाली भूमि मिचेर महोत्तरी जिल्लाको मटिहानी गाविससँग टाँसिएर रहेको भारतीय सहर मधवापुरमा दसजगामै पक्की सडक र नाला निर्माण गरेको छ ।
नेपाली भूमि मिचेर भारतले सार्वभौम राष्ट्र नेपालको पुरै बेवास्ता गरेर एकलौटी रुपमा यस्तो निर्माण कार्य गरेको हो ।
जिल्ला प्रशासन कार्यालय, महोत्तरीले भारतीय पक्षले मटिहानी गाविस–८ स्थित दसगजा क्षेत्रमा ७ दशमलव ३१ मिटर दसगजा मिचेर पक्की सडक र नाला निर्माण गरेको सरकारद्धारा सञ्चालित समाचार संस्था राससले उल्लेख गरेको छ ।
सीमाक्षेत्रको दसगजाभन्दा दुवैतिर ३० मिटरसम्म कुनै पनि प्रकारको भौतिक संरचना निर्माण नगर्ने अन्तर्राष्ट्रिय मान्यता र सम्झौता रहे पनि भारतीय पक्षले मटिहानी र मधवापुरको बीचमा दसगजा मिचेर पक्की संरचना निर्माण गरेको हो । दशगजा मिचेर संरचना निर्माण गरेको प्रमुख जिल्ला अधिकारी वीरेन्द्र यादवले समेत पुष्टि गरेका छन् ।
भारतीय पक्षले दसगजा मिचेर भौतिक संरचना निर्माण गर्न लागेको सम्बन्धी गत पुस २३ गते नै जानकारी पाएपछि सशस्त्र बेस क्याम्प मटिहानीले सो संरचनाको विरोध गरी काममा अवरोध खडा गर्दै रोक लगाएको थियो ।
तर पुनः भारतले सबै मान्यता र सम्झौतालाई लत्याउँदै तीन साता नबित्दै दसगजामा सडक र नाला निर्माण गरेको सशस्त्र प्रहरी उपरीक्षक, प्रकाश श्रेष्ठले बताए ।
भारतले यसरी दसगजामा बनाएको पक्की सडक र नालाको महोत्तरीका प्रजिअ यादवसहितको सुरक्षा निकायले स्थलगत निरीक्षण गरेको छ भने यसबारे उनीहरुले भारततर्फका मधुवनी जिल्लाका डिएम र सशस्त्रका कमाण्डरसँग समन्वय गरी निर्माण गरिएको संरचना भत्काएर मिचिएको दसगजा क्षेत्रलाई खाली गराउन प्रयास भइरहेको जनाइएका छन् ।
भारत पक्षले भने नेपाल पक्षको कुरालाई बेवास्ता गर्दै आएको छ । संयुक्त मधेसी मोर्चाले मधेसको हकहितमा चर्को कुरा उठाउने गरेपनि सिमा मिचिदाँ भने मौन बस्ने गरेकाे छ । प्रमुख राजनीतिक दलहरुले समेत भारतीय पक्षको गैरकानुनी कामको विरोध नगर्दा सिमाना मिचिने क्रम झन् बढ्दाे पाइएको छ
प्रकाशित मिति:
January 29, 2017