कुमारीहरुको भत्ता ५० प्रतिशतले वृद्धि
काठमाडौं, ३ फागुन । सरकारले विभिन्न मठमन्दिरहरमा रहेका जिवितदेवी कुमारीहरुको भत्ता ५० प्रतिशतले वृद्धि गरेको छ ।
मन्त्रीपरिषदको मंगलबार बसेको बैठकले जिवित देवी तथा भैरवका कुमारीहरुको मासिक तथा निवृत्त भत्ता ५० प्रतिशतले वृद्धि गराउने निर्णय गरेको सरकारका प्रवक्ता तथा सुचना तथा सञ्चारमन्त्री सुरेन्द्र काकीले जानकारी दिए ।
नेपाल सरकार मन्त्रीपरिषदको नियमित बैठक मंगलबार साँझ प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सम्पन्न भएको छ ।
बैठकले विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि विश्व बैंकबाट २० अरब ऋण पाउने भएपछि त्यसका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको छ ।
त्यसैगरी बैठकले भूमिसुधार मन्त्रालय अन्तर्गत व्यवस्थित बसोबास आयोगको गठन प्रक्रियालाई स्वीकृति दिने, आयोजनाहरु सञ्चालनका लागि अवरोध हुने रुख काट्नका लागि स्वीकृति दिने, नदाह कोशी पुल, चतरा रुपनगर सडकको स्तरोन्नतिका लागि थप बन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको छ ।
बैठकले चुनढुङ्गा उत्खननका लागि वन क्षेत्र प्रयोग गर्न दिने निर्णय पनि गरेको छ । त्यसै गरी बैठकले चितवनको शक्तिखोरलाई औद्योगिक नगरी बनाउने प्रक्रियालाई सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको छ ।
प्रकाशित मिति:
February 14, 2017