१४ गतेका तय स्ववियू सर्यो, १८ फागुनमा हुने
काठमाडौँ, ६ फागुन । १४ गतेका लागि तय गरिएको स्ववियु निर्वाचन चार दिन पछि सरेको छ । त्रिविले नयाँ निर्वाचन कार्यतालिका शुक्रबार सार्वजनिक गर्ने जनाएको छ ।
विप्लव माओवादीको थवाङमा महाधिवेशन जारी रहेको र नेपाली कांग्रेसभित्र रामचन्द्र पौडेल समूह तथा भित्रभित्रै नेकपा एमाले निकट विद्यार्थी संगठनले पनि केही दिन निर्वाचन पछाडी सार्न चाहे पछि निर्वाचन चार दिनलाई सरेको हो ।
केही क्याम्पसहरुमा तालाबन्दी र कतिपय ठाउँमा क्याम्पस प्रमुखहरुमाथि अपहरण र स्ववियू सार्न दबाब आएपछि स्ववियू निर्वाचन मिति सार्न परेको त्रिविले जनाएको छ ।
त्रिविविका पदाधिकारी, मातहतका क्याम्पस प्रमुख र विद्यार्थी सङ्गठनको बिहीबार साँझ सम्पन्न बैठकले यही फागुन १४ गते हुने निर्वाचनको मिति फागुन १८ गतेका लागि तय गर्दै नयाँ निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने निर्णय गरेको थियो ।
त्रिविविका रजिस्ट्रार डिल्लीप्रसाद उप्रेतीले नयाँ निर्वाचनको मिति तयसँगै नयाँ कार्यतालिका तय भएको र सबै विद्यार्थी सङ्गठनलाई समेटेर लैजानका लागि निर्वाचन सारिएको बताए । “केही विद्यार्थी सङ्गठनले क्याम्पसमा ताला लगाएका छन्”, उनले भने, “ती ताला खुलाउने र आन्दोलनरत पक्षलाई पनि समेट्नका लागि निर्वाचन सारिएको हो ।”
त्रिविले फागुन १४ गतेका लागि निर्वाचन कार्यतालिका तयार गरिसकेको थियो । निर्वाचन कार्यतालिकानुसार बिहीबार प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारको मनोनयन गर्ने कार्यतालिका थियो । त्रिविले २०६५ सालयता आठ वर्षपछि स्ववियु निर्वाचन २८ वर्षीय उमेर हदबन्दी र मिश्रित निर्वाचन प्रणालीमा गर्न थालेको छ । त्रिविले यसअघि दुई पटक स्ववियु निर्वाचनको घोषणा गरे पनि विद्यार्थी विवादका कारण हुन सकेको थिएन ।
प्रकाशित मिति:
February 17, 2017