फुटको संघारमा एमालेको युवा संघ, ओली पक्षलाई नेपाल पक्षको चेतावनी
काठमाडौं ६ फागुन
नेकपा एमालेको भातृ संगठन युवा संघको विवाद चरम उत्कर्षमा पुगेको छ । यसअघि युवा संघको विवाद मिलेको भनिए पनि वर्तमान अध्यक्ष राजिव पहारी र उपाध्यक्ष दिलु पन्तबीच पानी बाराबार मात्रै नभएर अलग अलग्गै महाधिवेशन हुने सम्मको स्थितिमा पुगेको छ ।
अध्यक्ष केपी ओली पक्षले युवा संघमा मनपरी गरेको भन्दै बरिष्ठ नेता माधव नेपाल पक्षधर युवा संघका नेताहरुले नसच्चिए अलग्गै महाधिवेशन गर्नेसम्मको चेतावनी पत्रकार सम्मेलन गरेर दिएका छन् ।
विधान विपरित युवा संघमा कमिटी बनाइएको र गुटगत आधारमा नेताहरुको जिम्मेवारी तोकिएको भन्दै बरिष्ठ नेता नेपाल पक्षधरले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरेर अलग्गै सम्मेलन गर्ने चेतावी दिएको छ ।
एक साताभित्र सो प्रक्रिया नसच्याएमा आगामी वैशाख ९ देखि १२ गतेसम्म चितवनको भरतपुरमा सङ्घको नवौँ राष्ट्रिय महाधिवेशन आयोजना गरिने चेतावनी नेपाल पक्षधरले दिएका छन् । सङ्घका अध्यक्ष राजीव पहारी नेतृत्वको समूहले पनि सोही समयमा मकवानपुरमा अधिवेशन गर्नका लागि तयारी सुरु गरेको छ ।
युवा संघ अध्यक्ष राजिव पहारीले पार्टी अध्यक्ष ओलीको आडमा विधान विपरित काम गरेको आरोप असन्तुष्ट पक्षले लगाएको हो ।
पत्रकार सम्मेलनमा सङ्घका उपाध्यक्ष दिलकुमारी पन्तले सङ्गठनको आन्तरिक विवादलाई न्यूनीकरण गरी एकता सुदृढ गर्न विधानानुसार सङ्घ सञ्चालन गर्नुपर्ने बताइन् ।
सङ्घका सचिव नरेशकुमार शाहीले पार्टी विधानानुसार जनसङ्गठनलाई पार्टीले प्रत्यक्ष रुपमा नेतृत्व गर्ने सम्पर्क मञ्च र कमिटी गठन गर्न प्रतिबन्ध गरेको अवस्थामा सो विधान प्रतिकूल हुने क्रियाकलाप विपरीत प्रोत्साहन दिने कार्य केही गुट तथा समूहले गरेको जनाउँदै त्यसको अन्त्य गर्न पार्टी नेतृत्वलाई आग्रह गरे ।
प्रकाशित मिति:
February 17, 2017