कुनै पनि बहानामा निर्वाचन सर्दैन : उपप्रधानमन्त्री महरा
रोल्पा, ११ चैत । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले स्थानीय तहको निर्वाचन कुनै पनि बहानामा नसर्ने बताएका छन् ।
रोल्पाको सदरमुकाम लिबाङमा शुक्रबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले भने— ‘वैशाख ३१ गते निर्धारण गरिएको स्थानीय तहको निर्वाचन कुनै पनि बहानामा सर्दैन ।’
उपप्रधानमन्त्री महराले मधेस केन्द्रित दल पनि सहमति नजिक आइसकेको बताउँदै भने “सीमाङ्कन बाहेकका विषयमा संविधान संशोधन गर्ने विषयमा मोर्चा सकारात्मक देखिएका छन् भने सीमाङ्कनको विषय थाति राखेर अगाडि बढ्ने कुरामा नेकपा एमाले पनि सहमत भएको छ ।”
“राजनीतिक गाँठो पनि क्रमशः फुकिँदै छ, जनताको ठूलो हिस्सा निर्वाचनलाई महोत्सवको रुपमा स्वागत गर्न आतुर छन्, यस्तो अवस्थामा निर्वाचन कसरी रोकिन्छ, ?”उनले भने— मोर्चासँग निकट भविष्यमा हुने सहमतिपछि मुलुकमा निर्वाचनको माहोल बन्छ ।
उपप्रधानमन्त्री महराले स्थानीय तहको संरचना कार्यान्वयनलाई इतिहासकै ठूलो उपलब्धि भएको बताउँदै स्थानीय तहको केन्द्रका बारे सानातिना विवाद आए पनि आपसी सहमतिमा त्यसलाई समाधान गरिने धारणा व्यक्त गरे ।
प्रकाशित मिति:
March 24, 2017