काठमाडौंबासीले लोडसेडिङ अन्त्यको गुण देखेनन्, सिंहदरबारलाइ गाउँ पुर्याएको रुचाएनन्
काठमाडौं २ जेठ
स्थानीय तहको निर्वाचनमा काठमाडौंबासीले नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारले लोडसेडिङ अन्त्य गरेकाले जनताले विश्वास गर्ने आशा गरिएपनि मतदाताले नपत्याएको देखिएको छ ।
काठमाडौं महानगरपालिकाको जारी मतगणनामा माओवादी केन्द्रका उम्मेदवारलाई कम मात्रै भोट आएको छ । एमाले, साझा पार्टी, कांग्रेस, विवेकशिल पार्टी भन्दा पछाडी माओवादी केन्द्रको स्थान रहेको छ ।
यता, काठमाडौंका १० नगरपालिकामध्ये एमाले पहिलो र कांग्रेस दोस्रो स्थानमा छन् भने माओवादी केन्द्रले कुनै पनि नगरपालिकामा अग्रता लिन सकेको छैन ।
एमालेले बुढानीलकण्ठ नगरपालिकामा मतान्तर बढाउँदै लगेको छ । बुढानीलकण्ठका २ वटा वडामा एमालेको प्यानलै विजयी भइसकेको छ । त्यस्तै, शंखरापुर नगरपालिकामा पनि एमालेले अग्रता लिइरहेको छ ।
एमालेले अग्रता लिएका अन्य नगरपालिकामा तारकेश्वर, नागार्जुन, दक्षिणकाली र कीर्तिपुर पनि हुन् । नेपाली कांग्रेसले गोकर्णेश्वर, कागेश्वरी मनहरा, टोखा र चन्द्रागिरी नगरपालिकामा अग्रता लिइरहेको छ ।
कतिपयले भने माओवादीले केन्द्र्रिकृत शासन पद्धति अर्थात संघीयतामार्फत सिंहदरबारको अधिकार गाउँ गाउँमा पुर्याएकाले पनि काठमाडौंबासीले माओवादीलाई विश्वास नगरेको समेत टिप्पणी गर्ने गरेका छन् ।
सिंहदरबारमा नै देशकै अधिकार भईरहँदा काठमाडौंबासीलाई फाइदा पुग्ने तर अधिकार विकेन्द्रिकरण हुँदा कम फाइदा हुने देखेकाले पनि माओवादीलाई विश्वास नदिएको समेत टिप्पणी गरेको पाइएको छ । माओवादीकै एजेण्डामा संघीयता तथा स्थानीय तहको कार्यान्वयनका लागि भएको निर्वाचनको मतगणना भईरहेको हो ।
प्रकाशित मिति:
May 16, 2017