स्वास्थ्यकर्मीलाई छुट्टीमा नबस्न र गोष्ठी भेला छाडेर काममा फर्कन मन्त्रीको निर्देशन
काठमाडौं २८ साउन
स्वास्थ्य मन्त्रालयले स्वास्थ्यकर्मीहरुलाई छुट्टीमा नबस्न निर्देशन दिएको छ । मन्त्रालयले तालिम, भेला, गोष्ठी लगायतका सम्पुर्ण कार्य रोकी कार्यस्थलमा फर्केर आफ्नो जिम्मेवारी सम्हाल्न, २४ सैं घण्टा फिल्डमा रहेर सेवा दिन र आवश्यक औंषधी तथा जनशक्तिको व्यवस्था मिलाउन विशेष निर्देशन समेत दिएको छ ।स्वास्थ्यमन्त्री गिरिराजमणी पोखरेलले शनिबार एक विज्ञप्ति जारी गर्दै करिब ६० प्रतिसत बजेट स्थानिय तह मा नै रहेकोले प्रभावित र पिडितहरुलाई सहजरुपमा सेवा पाउने व्यवस्था मिलाउन समेत अनुरोध गरेका छन् ।
मन्त्री पोखरेलले बाढी पहिरोबाट उत्पन्न असहज अवस्थालाई समेत दृष्टिगतगरी अनसनरत डा.गोविन्द के.सी.लाई आफ्नो अनसन अन्त्य गरेर सम्पूर्ण स्वास्थ्यकर्मीहरुलाई बाढी प्रभावित क्षेत्रमा गई स्वास्थ्य सेवामा जुट्न उत्प्रेरित गरिदिनका लागि पनि बिशेष अपिल गरेका छन् ।
मन्त्री पोखरेलले २० औं दिनदेखी डा. गोविन्द केसी को अनसन जारी रहेको माग सम्बोधन र सम्मान गर्न प्रधानमन्त्रीको सक्रियतामा शिक्षा, स्वास्थ्य मन्त्रालय र नागरिक समाज समेत क्रियाशिल रहेको जानकारी गराउँदै माथेमा आयोगको मूल मर्मको आधारमा चिकित्सा विधेयक संसदको बालबालिका तथा समाज कल्यांण एवं जेष्ठ नागरिक समितिबाट सर्वसम्मतीले पारित भई संसदको पुर्ण सदनमा पेश हुने क्रममा रहेको समेत जानकारी गराएका छन् ।
मन्त्रालयले मन्त्रालयका उच्च अधिकारी, बिषेशज्ञहरुको नेतृत्वमा टोली बनाई प्रभावित क्षेत्रमा पठाईएको जनाउँदै स्वास्थ्य मन्त्रालयले Rapid Response Team लाई Allert राखेर काम गरी रहेको जनाएको छ ।
मन्त्रालयले बिषम परिस्थितीमा बाढी पहिरोबाट बिस्तापित, घाईते एवं प्रभावितहरुमा औषधी तथा उपचारवाट बंचित हुने अवस्था सृजना हुन नदिन, यसपछी उत्पन्न हुने झाडापखाला, हैंजा, आउ, जण्डिस लगायतका रोगब्याधी तथा महामारी फैलन सक्ने सम्भावनाप्रती अहिल्यैंदेखी नैं सतर्क रहन सम्पूर्ण सरकारी, गैर सरकारी तथा नीजि स्वास्थ्य संस्था, निकाय एवं स्वास्थ्यकर्मीहरुलाई अनुरोध समेत गरेको छ ।
मन्त्रालयले देशको यो परिस्थितीलाई ध्यान दिएर आफ्नो उत्तरदायित्व निर्वाह गर्न सम्पूर्ण सरोकारवाला निकाय तथा समुदायहरुलाई जिल्ला स्थित Rapid Response Team, सबैं सरकारी स्वास्थ्य संस्था, एवम सरुवा रोग तथा महामारी रोग नियन्त्रण महाशाखा काठमाण्डौं (हटलाईन नम्बर ०१–४१००१८७/०१–४२६२२६८ र मोबाईल नम्बर ९८५१०९६०८९) संग सम्पर्क समन्वय र सहकार्यगरी विपद व्यवस्थापनमा जुटन अनुरोध समेत गरेको छ ।
प्रकाशित मिति:
August 12, 2017