प्रचण्ड बाबुराम भेट- गम्भीर समीक्षा गर्ने, छलफल जारी राख्ने सहमति
काठमाडौं २८ साउन
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पूर्व एमाओवादी उपाध्यक्ष समेत रहेका नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईलाई भेटेर पार्टी एकताको प्रस्ताव गरेका छन् ।
अप्रेसनपछि बेडरेष्टमा रहेका नेता भट्टराईलाई भेट्न अध्यक्ष अध्यक्ष दाहाल शनिबार दिउँसो टोखास्थित भट्टराई निवासमा पुगेका थिए । दुई घण्टा लामो छलफलमा दुई नेताबीच समसामयिक राजनीतिकका विषयमा कुराकानी भएको दाहालको सचिवालयले जनाएको छ ।
भेटमा दाहालले माओवादी शक्तिहरु कमजोर बन्दै गएको र परिवर्तनका एजेण्डाहरु समेत उल्टाउने प्रयास भईरहेको भन्दै पार्टी एकता गरेर अघि बढ्न प्रस्ताव गरेका थिए ।
नेता भट्टराईलाई दाहालले पूर्व माओवादी र अग्रगामी धाराहरु बीचको एकतामा जोड दिँदै त्यसका लागि गम्भीर रुपले सोच्न नेता आग्रह गरेका थिए ।
दुई नेताबीच समग्र विषयमा गम्भीर समीक्षा गरेर अगाडि बढ्न छलफललाई जारी राख्ने समझदारी भएको बताइएको छ ।
दाहालले देशको जटिल राजनीतिक परिस्थितिलाई विचार गरेर माओवादीहरु एक हुनैपर्ने कुरामा जोड दिँदै सम्पूर्ण राजनीतिक परिस्थितिमा समीक्षा गरेर जान आफूहरु गम्भीर रहेको नेता भट्टराईलाई बताएका थिए ।
भेटमा नेता भट्टराईले समग्र विषयमा समीक्षा गरेर निष्कर्षमा पुग्न सकिने बताउँदै त्यसका लागि छलफललाई जारी राख्ने बताएका थिए ।
प्रकाशित मिति:
August 12, 2017