पम्फा भुसालले आमालाई सम्झेर जे भनिन् त्यसपछि रहेनन् नरुने कोही
काठमाडौं २४ मंसिर
मंसिर २३ गते शनिबार बिहान सबैरै ललितपुर ३ को प्रतिनिधि सभातर्फको नतिजा सार्वजनिक भयो । नजिताले कांग्रेसलाई दुःखित तुल्यायो भने, वाम गठबन्धनलाई खुसी दियो । उक्त नतिजामा कांग्रेसका उम्मेदवार मदन अमात्यलाई हराउँदै नेकपा माओवादी केन्द्रकी प्रवक्ता समेत रहेकी पम्फा भुसाल विजयी भएकी थिइन् ।
विजयीसँगै दिउँसो २ बजेसम्म प्रदेशसभाको पनि नतिजा आउने भन्दै विजयी र्यालीको साइत जुराइयो तर प्रदेशको नतिजा साँझ मात्र आउने देखिएपछि उपस्थित कार्यकर्ता तथा शुभचिन्तकको माग अनुसार ३ बजे विजयी र्याली सुरु गरियो ।
जावलाखेल, लगनखेल, महालक्ष्मी हुँदै र्याली नवनिर्वाचित सांसद भुसालको घरमा पुगेर समापन गरियो । र्यालीभरी नाचगान देखिए पनि समापन कार्यक्रम भने खुसीका आशुले भरिए ।
भुसालले आफ्ना प्रतिवद्धता पूरा गर्ने वाचासहित सबैलाई धन्यवाद दिईरहँदा आफ्नी आमालाई सम्झिइन् । ‘मेरी आमा बोल्न सक्नु हुन्न, राम्ररी सुन्न सक्नु हुन्न, तर आज बिहान विजयी भएको खबरपछि उहाँले यस्तो भाव व्यक्त गर्नुभयो, त्यो भाव म व्यक्त गर्न सक्दिन, उनले र्यालीमा उपस्थित वाम गठबन्धनका सयौं नेता, कार्यकर्ता तथा शुभचिन्तकसामु भनिन्, ‘मेरी आमाको त्यो भावलाई आमाको भाव मात्र सम्झेकी छुइन, सारा नेपालभरीका आमाको भाव सम्झेकी छु ।’
भुसालले आफ्नी आमालाई नेपालभरीका आमासँग जोडेर भावुक शैलीमा नेपाल भरीका आमालाई खुसी पार्ने गरी काम गर्ने वाचा गरिरहँदा उपस्थित नेता कार्यकर्ता तथा शुभचिन्तकका आँखा रसाएका थिए । छोटो प्रतिवद्धतासँगै सांसद भुसालसँग फोटो खिच्नेका भिड लागेको थियो, त्यो समयमा समेत उपस्थितहरुको आँखा भने रसाउन छाडेका थिएनन्, सो समयमा भुसालकी आमा घरभित्रै रहेँ पनि अन्य परिवारका सदस्यहरु पनि खुसीले आँखाभरी आँशु बनाईरहेका थिए ।
भुसाल आफ्नी आमा र आफ्नी आमालाई माया गर्ने अन्य नेता तथा कार्यकर्तालाई समेत अत्याधिक माया गर्ने गर्छिन् ।
प्रकाशित मिति:
December 10, 2017