भदौ ३ – आफैंले जन्माएर हुर्काउँदै गरेकी आफ्नै छोरीलाई बाबुले नै करणी गर्यो भन्दा जोकोहीलाई आश्चर्य लाग्न सक्ला र पत्याउन गा¥हो पनि होला । तर इटहरीमा आज यस्तै घटना भएको सार्वजनिक भएको छ ।
आफ्नै छोरी करणी गरेको अभियोगमा प्रहरीले बाबुलाई पक्राउ समेत गरेको छ । सुनसरीको इटहरी–५ स्थित जनता बस्तीका मौले दर्जीमाथि आफ्नै १० वर्षीया छोरीलाई करणी गरेको आरोप लागेको छ ।
उनलाई सोही अभियोगमा इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ ।
घरमा कोही नभएको समयमा अश्लील चलचित्र देखाउँदै गरेको अवस्थामा स्थानीयद्वारा नियन्त्रणमा लिई उनलाई प्रहरीको जिम्मा लगाइएपछि सो घटना सार्वजनिक भएको हो ।
बालिकाले ‘एक्लै भएपछि बुबाले टिभीमा अश्लील चलचित्र लगाएर मलाई जबर्जस्ती गरेको’ छिमेकीलाई बताएपछि घटना सार्वजनिक भएको हो । स्थानीयवासीले बाबु मौलेलाई नियन्त्रणमा लिएका हुन् ।
बाबु मौलेले छोरीलाई यो कुरा बाहिर भनिस् भने मारिदिन्छु भन्दै धम्की दिने गरेको पनि ती बालिकाले बताएको प्रहरीले जनाएको छ ।
इटहरी–५ स्थित रक्तमाला निमाविमा कक्षा ५ मा अध्यनरत ती बालिकामाथि भएको अत्याचारविरुद्ध उनकी आमा माला दर्जीले इलाका प्रहरी कार्यालय इटहरीमा श्रीमान्विरुद्ध किटानी जाहेरी समेत दिएकी छिन् ।
प्रहरीका अनुसार दर्जीलाई जबर्जस्ती करणी तथा हाडनातासम्बन्धी कानुनअन्तर्गत कारबाही अघि बढाइएको प्रहरी निरीक्षक सागर थापाले बताए । प्रहरीले दर्जीको घरबाट एक थान डिभिडी, अश्लील चलचित्रको सिडी र रिमोटसमेत बरामद गरेको छ । रासस