भदौ २१ – भारतले नराम्रो तथा बिग्रिएको दाना नेपाल पठाएका कारण नेपालका कुखुरा फर्ममा महामारी फैलिन थालेको छ ।
दाना उत्पादन गर्ने व्यापारीले भारतबाट ल्याउने दानाका सामग्री कमसल, ढुसी आएको हुने गरेको तथा दाना उत्पादन गर्नेले समेत दानामा ढुसी आएको चाउचाउदेखि पाउरोटीको टुक्रासमेत मिसाउन थालेपछि अहिले रोगको महामारी फैलिएको सम्बद्ध क्षेत्रका जानकारहरु बताउँछन् ।
भारतले राम्रो दाना जति आफ्नो देशमा राख्ने र बङ्गलादेश, श्रीलङ्कालगायतका देशमा पठाउने तर नराम्रो, बिग्रिएको, ढुसी परेको सामान सस्तोमा नेपाल पठाउने गरेपछि कुखुरामा रोगको महामारी फैलिएको व्यवसायीहरुको भनाई छ ।
दाना उत्पादन गर्ने व्यवसायीले राम्रो दाना उत्पादन नगरेसम्म सो समस्या रहिरहन्छ उनीहरुले बताएका छन् ।
कुखुरापालन व्यवसायी सङ्घ भक्तपुरका संस्थापक अध्यक्ष एवम् कुखुरा व्यवसायी लक्ष्मण ग्वाछाले कुखुरा सुक्दै जाने र अन्त्यमा ‘टक्सिस’ नामक रोगले भक्तपुरमा कुखुरा मर्न थालेको जानकारी दिए ।
भक्तपुरका अधिकांश कुखुरा फर्ममा अहिले एक हजार कुखुरामा १५ कुखुरा टक्सिसले मर्ने गरेको उनको भनाई छ ।
ब्रोइलर कुखुरा ४२ देखि ४५ दिनभित्र बिक्री गर्नुपर्ने हुन्छ तर कुखुरा एक महिना भएपछि यो रोग लागेर मर्ने गरेकाले कुखुरापालन गर्ने कृषक मर्कामा परेका छन ।
करिब दुई महिनाअघिदेखि सुरु भएको सोे रोगको निदान हुन समय लागेकोे जानकारी दिँदै ग्वाछाले सो रोग दानाबाट आएको ठोकुवा गरेका छन् ।