भारतीय एसएसबी नेपाल छिरेर निर्दोष चार नेपालीमाथि गोली प्रहार
मंसिर ९ काठमाडौं । भारतीय सीमा सुरक्षा बल एसएसबीले सुनसरीस्थित नेपाली भूमिमा प्रवेश गरेर गोली चलाएको छ । गोली लागी चार जना निर्दोष नेपाली गम्भीर घाइते भएका छन् ।
सुनसरीको भन्टाबारीस्थित नेपाली भूमिमा बुधबार बिहान छिरेका करिब आधा दर्जन बढी एसएसबीको समूहले गोली चलाउँदा चार नेपाली गम्भीर घाइते भएका हुन् ।
फोटोः फाइल |
एसएसबीले हानेको गोली लागेर हरिपुर गाविस–७ का अशोक यादव, नरेश यादव, मनोज यादव र सरोज यादव घाइते भएका जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सञ्जय शर्माले जानकारी दिए ।
काठमाडौंस्थित दूतावासले भने विज्ञप्ति निकालेर जवानको गोली लागेर घाइते नभएको भन्दै ढाकछोप गर्ने प्रयास गरेको छ । यता, सांसदहरुले भारतीय राजदूत रन्जित रेलाई स्वदेश फिर्ता पठाउन माग गरेका छन् ।
गृह मन्त्रालय र त्यस मातहतका निकायले भारतीय फौजका जवान नेपाल छिरेर गोली चलाएको र गोली लागि चार नेपाली घाइते भएको पुष्टि गरेको छ ।
स्थानीयहरुले भारतीयले लखेटी लखेटी गोली हानेको जनाएका छन् । घाइतेहरुको उपचार भईरहेको छ । स्थानीयहरुका अनुसार घाइते चार जना नै सामान्य नागरिक भएको र कृषि पेशामा आवद्ध छन् ।
गोली चलाउनु भारतीय सुरक्षा बलको गल्ती :प्र जिअ पन्थ
रासस
इटहरी, ९ मङ्सिर । सुनसरी जिल्लाको हरिपुर र भारत विहारको भीमनगर सीमा नाकामा आज बिहान भारतीय सीमा सुरक्षाबल (एसएसबी)ले नेपाल भूमिमा प्रवेश गरेर गोली चलाएर चारजना नेपाली गम्भीर घाइते बनाउनु भारतीय सुरक्षाकर्मीका तर्फबाट सिधै गल्ती भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले बताएका छन् ।
घटनास्थलको स्थलगत अवलोकनसँगै स्थानीयवासी र भारतीय सीमा सुरक्षा बलसँँग समेत भेटघाट गरेर घटनाका विषयमा गहन अध्ययनपछि सदरमुकाम इनरुवा आइपुग्नुभएका प्रजिअ पन्थले स्थानीयवासीले भने जस्तै भारतीय सीमा सुरक्षा बलका जवानले नेपालको भू–भागमा आएर जथाभावी गोली चलाएको देखिएको उल्लेख गरे ।
साइकलमा रासायनिक मल लिएर नेपालतिर आउँदै गरेको नेपालीलाई साइकलमा पच्छ्याउँदै आएका भारतीय सुरक्षा बलका जवानले नेपाली भूमिमा बसिरहेकालाई जथाभावी बोल्ने र गालीगलौज गरेपछि तनाव भएको र एक्कासी भारतीय जवानहरुले फायर खोलेको स्वयम एसएसबीका जवानले बताएको प्रमुख जिल्ला अधिकारी पन्थले जानकारी गराए ।
भारतीय सुरक्षा बल एसएसबीले आफुहरुमाथि पनि लाठी प्रहार गरेको र आत्मरक्षाका लागि बाध्य भ्एर फायर खोल्नुपरेको भन्ने भनाइले पनि उनीहरुबाट गल्ती भएको देखिन आएको पनि प्रजिअ पन्थले जानकारी गराउँदै नेपाली भूमिमा प्रवेश गरेर नेपालीमाथि नै गोली हान्नु सिधै गल्ती भएको टिप्पणी गरे ।
घटनापछि हरिपुर सीमानाका क्षेत्रमा अहिले स्थिति शान्त रहेको छ । सुनसरी प्रहरीले घट्नालाई गम्भीररुपमा हेर्न छलफल चलाइरहेको बुझिएको छ ।
प्रकाशित मिति:
November 26, 2015