भदौ २५ (रासस÷एएफपी) – भारतका एकजना व्यङ्गचित्रकार (कार्टुनिष्ट) लाई पत्रिकामा कार्टुन बनाएर सरकार र संसदको मानहानी गरेको अरोपमा भारतीय प्रहरीले पक्राउ गरेको छ ।
उनले आइतबारको एक भारतीय पत्रिकामा भारतमा व्यापक मात्रामा भ्रष्टाचार भएको र भारतीय संसद एउटा ठूलो शौचालयजस्तो भएको चित्रण गरेर व्यङ्गचित्र बनाएका थिए ।
उनले भारतमा व्यापक मात्रामा भ्रष्टाचार भएको भन्दै यसका विरुद्धमा कैयौं पत्रिकाहरुमा यसको व्यङ्गात्मक चित्रहरु बनाउँदै आएका छन् । तर यो पछिल्लो चित्रमा भने भारतीय संसदको व्यापक मानहानी भएको र प्रजातान्त्रिक देशको संसदजस्तो गरिमामय संस्थालाई चर्पीका रुपमा चित्रण गरिनु आपत्तिजनक रहेको बताइएको छ ।
व्यङ्गचित्रकार असिम त्रिवेदी स्वतन्त्र पत्रकारका रुपमा विभिन्न पत्रिकाहरुमा व्यङ्गचित्र बनाउँदै आएका छन् । उनलाई आइतबार प्रहरीले पक्राउगरी अदालतसामु प्रस्तुत गरेको छ ।
यो घटनाको भारतका सञ्चारमाध्यमहरुले व्यापक रुपमा विरोध गरेका छन् । उनीहरुले यो घटनालाई प्रेस स्वतन्त्रता र नागरिकको अभिव्यक्ति स्वतन्त्रताको विरोधी भनी टिप्पणी गरेका छन् ।
उनीहरुले यस घटनामा प्रजातान्त्रिक सरकारले निरङ्कुशताको प्रदर्शन गरेको भन्दै संसदको पनि स्वस्थ आलोचना गर्न पाउनुपर्ने बताएका छन् ।
त्यसैगरी भारतमा भ्रष्टाचारको विरोधमा लागेका कार्यकर्ताहरुले पनि सरकारले गरेको सो पक्राउको व्यापक विरोध गरेका छन् ।
उनीहरुले एकजना पत्रकारलाई पक्राउ गरेर सरकारले भ्रष्टाचार विरोधी कार्यको खोजबीनको कार्यलाई निरुत्साहित गर्न खोजेको आरोप लगाएका छन् ।
हाल प्रहरीको हिरासतमा रहेका पत्रकार त्रिवेदीले भने– यदि सरकारले मलाई साँचो कुरा लेखेको वा सत्यको चित्रण गरेको आरोपमा देशद्रोही बनाउँछ भने ठिकै छ म बन्न तयार छु । उनलाई अदालतसमक्ष प्रस्तुत गरिएको छ र अदालतले पनि यही सेप्टेम्बरको १६ तारिखसम्म हिरासदमा राख्ने आदेश दिएको छ ।
देश र जनतालाई भ्रष्टाचारजस्तो जघन्य अपराधका बारेमा जानकारी गराउने काममा रहेको एकजना पत्रकारलाई यदि सरकारले देशद्रोही सावित गर्न खोज्छ भने मैले यो कामलाई निरन्तरता दिनेछु कदापि माफी माग्नेछैन– उनले भनेका छन् ।
यो घटनालाई भारतमा प्रेसमाथिको प्रतिबन्धका रुपमा लिइएको छ । कतिपय अधिकारकर्मीहरुले यसलाई सरकारको निरङ्कुशता पनि भनेका छन् ।
केही समयअघि पनि बैंगलोर र अन्य सहरमा जातीय हिंसा भएको भन्दै भारतीय विद्युतीय सञ्चारमाध्यमहरुका साथै केही इन्टरनेट मिडियामा लगाइएको प्रतिबन्धका कारण पनि भारत सरकार आलोचित भएको थियो ।
भारतको प्रेस काउन्सिलका अध्यक्ष मार्कन्डेय कात्जुले सो घटनामा व्यङ्गचित्रकार त्रिवेदीको बचाउ गरेका छन् । उनले आज प्रकाशन गरेको एक विज्ञप्तिमा व्यङ्गचित्रकार त्रिवेदीले कुनै अवैध काम गर्नुभएजस्तो मलाई लाग्दैन किनभने प्रजातन्त्रमा नागरिकले आफुलाई लागेका विचारहरु व्यक्त गर्न पाउँदछ भनेर उल्लेख गरेका छन् ।
भारतको दि हिन्दू पत्रिकामा सन् २००८ मा मुम्बईमा भएको आक्रमणका एक जिवीत आक्रमणकारीले भारतीय संविधानमा पिसाव गरिरहेको र अर्को कार्टुन भारतको संसदलाई शौचालयका रुपमा चित्रण गरिएको बनाएको थियो ।
त्यसैगरी सोही पत्रिकाले अर्काे एक कार्टुनमा भारतीय मातालाई सामुहिक रुपमा बलात्कार गरेको चित्रण गरिएको छ ।