जेठ ४ । निर्वाचन आयोगले हालसम्म एक करोड १५ लाख नागरिकले मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएको जानकारी दिएको छ ।
आयोगले नामावलीमा नाम भर्न छुटेको भए छिटो दर्ता गर्न समेत नागरिकलाई आग्रह गरेको छ ।
अहिले दर्ता भएको मतदाता नामावलीको आधारमा मात्र संविधानसभा चुनावमा उम्मेदवार हुन पाउने र मतदान गर्न पाउने भएकाले छुटेकाले तत्काल आफ्नो नाम दर्ता गराउन आयोगले आम जनसमुदायमा आग्रह गरेको हो ।
आयोगका आयुक्त दोलखबहादुर गुरुङका अनुसार पछिल्लो दिनमा मतादाताहरूमा नामावली सङ्कलनमा उत्साह देखिएको छ । नागरिकता वितरण र मतदाता नामवली सङ्कलन सँगसँगै अगाडि बढाइएकाले पनि मतदातामा उत्साह पैदा भएको आयोगको भनाई छ ।
आयोगले सबै जिल्लाका निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय र एकीकृत घुम्ती शिविर मार्फत मतदाता नामावली सङ्कलन र नागरिकता वितरणको काम गरिरहेको जनाएको छ ।
आफूलाई पायक पर्ने स्थानमा गएर मतदाता नामवली दर्ता गराउन र विवरण गलत भएमा पुनः सच्याउन समेत आयोगले सबैसँग आग्रह गरेको छ ।
यसैगरी आयोगमा अहिलेसम्म ३४ वटा राजनीतिक दलले दल दर्ता गराएका छन् ।
पछिल्लो पटक अनिल झाले नेतृत्व गर्नुभएको सङ्घीय समाजवादी पार्टीले आफ्नो दल दर्ता गराएको छ भने दश हजार जनताको हस्ताक्षर जुटाएर दल दर्ता गर्नेको सङ्ख्या पनि ५ वटा रहेका छन् ।
ती दलहरूमा नेपाल नागरिक पार्टी,राष्ट्रिय मधेस समाजवादी पार्टी, जनप्रजातान्त्रिक पार्टी, खम्बुवान राष्ट्रिय मोर्चा र राष्ट्रिय स्वाभिमान पार्टी रहेका छन् । आयोगका अनुसार हिजोसम्म दल दर्ता गराउनेको सङ्ख्या ३४ पुगेको हो ।
Powered by Blogger.
१ करोड १५ लाखले नाम दर्ता गराएको आयोगको दाबी
प्रकाशित मिति:
May 18, 2013