जेठ ८ । सोमबार राती धारिलो हतियार प्रयोग गरी हत्या गरिएका पूर्व सभाषद सदरुल मियाँ हकको हत्यारा पत्ता लगाउन धरानबाट झिकाइएको कुकुरले प्रहरी चौकीमै गएर अडान लिएपछि हत्यामा प्रहरीको संलग्नता रहन सक्ने सम्भावना बढेर गएको छ ।
तालिम प्राप्त कुकुरले हत्यारालाई पत्ता लगाउने क्रममा बाटो सुँघ्दै जाँदा प्रहरी कार्यालय कल्याणपुरमा गएर रोकिएका हुन् । तालिम प्राप्त कुकुरहरु उक्त चौकीबाट कतै पनि जान नमानेकाले उनीहरुले हत्यारा त्यही चौकी भित्रका प्रहरी पनि हुन सक्ने निशाना लगाएका हुन् ।
उक्त चौकी पुग्न अघि ती कुकुरहरुले घटनास्थलदेखि तीन सय मिटर उत्तरतर्फ बाँसको झ्यांगमा सर्ट, चप्पल र डायरी फेला परेका थिए । उक्त फेला परेको वस्तुमा रगत लतपतिएको थियो ।
अनुसन्धानका लागि तालिम प्राप्त कुकुरहरुले नै प्रहरी चौकीलाई निशाना बनाएर अन्यत्र जान नमानेको देखेपछि स्थानीयले भने हत्यामा प्रहरीकै संलग्नता हुनसक्ने भन्दै प्रदर्शन समेत गरेका थिए । तर, उक्त चौकीमा रहेका प्रहरीको पनि छानबिन हुने भएपछि भने स्थानीय शान्त भएका थिए ।
त्यसो त हत्या गरिएका सदरुलको शवलाई पोष्टमार्टमका लागि धरान लैजान सहमति भईसके पनि कुकुरहरुले प्रहरी चौकीमा नै निशाना लगाएकाले घटनामा प्रहरीको पनि संलग्नता रहने भन्दै रोकेका थिए । पछि भने आन्दोलन पनि जारी राख्ने र इलाका प्रहरी कार्यालय भित्र छानबिन गरिने सहमति पछि शवलाई धरान ल्याइएको छ ।
हत्याको अनुसन्धानका लागि छानबिन समिति गठन
सरकारले हकको हत्या घट्ना छानविन गर्न नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजीपी) दिनकरशमशेर राणाको संयोकत्वमा समिति गठन गरेको छ ।
उक्त समितिमा पूर्वाञ्चल क्षेत्रका डिआईजी पर्शुराम खत्री र राष्ट्रिय अनुसन्धान विभागका पूर्वाञ्चल निर्देशक पुष्करप्रसाद चापागाई छन् ।
उक्त घटनाका सम्बन्धमा सत्यतथ्य छानबिन गरी सात दिनभित्र प्रतिवेदन पेस गर्न भन्दै गृहमन्त्रालयले छानबिन समिति गठन गरेको हो ।
उद्योगीदेखि जोसिला नेतासम्म
श्रवणकुमार देव, सप्तरी:
कल्याणपुरमै जन्मेर इँटा उद्योग र पेट्रोलपम्प संचालन गर्दै आएका सदरुल समाजिक काममा पनि सक्रिय थिए ।
पहिलेदेखि राजनीतिक पृष्ठभूमि नभए पनि २०६४ सालमा भएको संबिधानसभाको निर्वाचनबाट राजनीतिमा प्रवेश गरेका सदरुलले क्षेत्र नं। ५ बाट सजिलै चुनाव जितेका थिए ।
सप्तरी जिल्लाबाट ६ जना प्रत्यक्ष र १० जना समानुपातिक गरी १६ जना सभासद् भए पनि संबिधानसभामा उनको जस्तो भूमिका अरुको रहेन । कुनै राजनीतिक दलमा आवद्ध नभइकन पनि स्थानीयदेखि राष्ट्रिय मुद्दाका विषयमा आफ्ना विचारहरु जिल्लाका अन्य सभासदहरुभन्दा गहकिलो रुपमा हकले प्रस्तुत गरेका थिए ।
मधेशी, मुस्लिम, आदिवासी, जनजातिको पक्षमा बोल्ने सदरुल हक सभासद् बने यता सधैं चर्चामा रहे ।
सभासद् बनेपछि उनले अरु सभासदहरु जस्तो काठमाडौंमै डेरा जमाएर बसेनन् । संविधान सभा र व्यवस्थापिका संसदको बैठक नभएका बेला उनी धेरै जसो जिल्लामै देखिन्थे ।
स्थानीय कार्यक्रमहरुमा सक्दो सहभागिता जनाउने सदरुलका कुरा सुन्नेहरुको भीड पनि अरुको भन्दा बढी नै हुन्थ्यो । पछिल्लो समय बिभिन्न मधेशवादी दलहरुले आफ्नो पार्टीमा प्रवेशका लागि आग्रह गर्दा पनि उनले स्वतन्त्र नै रहन रुचाए ।
संबिधान बनाउन मुख्य दलका नेताहरुले सहमति गर्न नसकेको र त्यसमा संविधान सभा अध्यक्षको भूमिकाप्रति पनि असन्तुष्ट हकले यसबारे बारम्बार आवाज उठाएका थिए ।
संबिधानसभा बिघटन भएपछि जिल्लामा बस्दै आएका हक सामाजिक कामहरुमै सक्रिय थिए ।
हत्यारालाई कारबाही हुनेमा आशंका
यसअघिका घटनाहरु केलाउने हो भने नेपालमा भारतीय पक्षद्धारा मुस्लिम नेता तथा अगुवाहरुको हत्या हुँदै आएको छ । यसलाई पनि त्यसैको श्रृंखलाका रुपमा समेत धेरैले लिने गरेका छन् । यसअघि सांसद मिर्जा दिलसाद बेग, सञ्चार उद्यमी जमिम साह, केन्द्रीय कारागारमा रहेका युनुस अन्सारीमाथि जलमै हत्याको प्रयास जस्ता घटनाहरु सिँधै मुस्लिममाथि भारतीय पक्षले गरेका घटनाहरु छन् । पूर्व सभाषद हकको पनि आर्थिक वा अन्य कुनै कारणले हत्या नभएको भए सिँधै यसैको श्रृंखलाको रुपमा पनि लिन सकिने विश्लेषण गरिएको छ ।
यता, यसको अलवा न्यायाधिस रण बहादुर बमको गोली हानि गरिएको हत्या र त्यसपछि अनुसन्धानले तत्कालिन गृहमन्त्री विजयकुमार गच्छदारसम्मको साँठगाँठ र अहिलेसम्म पनि कारबाही नहुनुले यो घटनामा पनि केही रहस्य लुकेको हुनसक्छ । तर, उक्त रहस्य पर्दाफास नै भएपनि गच्छदारको संलग्नता देखिँदा चुप लागेको सरकार जस्तै अहिलेको घटनामा पनि पहिलो कुरा दोषीको पहिचान र पहिचान भईगएमा कारबाही हुनेमा भने शंका छ !
Powered by Blogger.
पूर्व सभाषदको हत्या प्रकरण: तालिम प्राप्त कुकुरको निशानामा प्रहरीकै चौकी
प्रकाशित मिति:
May 22, 2013