अनसनमा बसेका अध्यक्ष महतोको अवस्था गम्भीर
जेठ १० । संविधानसभा निर्वाचनको मिति घोषणा र भ्रष्टाचारको अन्त्यलगायत दसबुँदे माग राख्दै तीन दिनदेखि आमरण अनशनमा बस्नुभएका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको स्वास्थ्य अवस्था गम्भीर हुँदै गएको छ ।
रत्नपार्कस्थित शान्तिवाटिकामा अनशन बस्नुभएका अध्यक्ष महतोको शरीरमा नुनको मात्रा कम भई स्वास्थ्य अवस्था गम्भीर भएको वीर अस्पतालका चिकित्सक डा धुव्रप्रसाद सिंहले जानकारी दिएको राससमा उल्लेख छ । अध्यक्ष महतोको रक्तचाप १६०÷१०० पुगेको, चिनी औसतभन्दा २२ अङ्कले र मुटुको चाल दर पनि औसतभन्दा बढेको जनाइएको छ ।
पार्टी प्रवक्ता सन्तोष मेहताले अध्यक्ष महतोको स्वास्थ्य अवस्था संवेदनशील रहँदा पनि सरकार पार्टीका मागप्रति उदासीन बनेको छ भन्दै तत्काल माग सम्बोधन गर्न बिहीबार प्रेस विज्ञप्तिमार्फत आग्रह गरेका छन् ।
प्रकाशित मिति:
May 24, 2013