निरासाले निम्त्यायो आत्महत्या

बजार जान अनुमति माग्दा आमाबाट अनुमति नमिलेपछि बालिकाले आत्महत्या गरेकी हुन् ।
दुई हप्ताअघि ९ कक्षाको परीक्षामा असफल भएपछि १४ वर्षीया बालिकाले पनि अन्तिम विकल्प आत्महत्या रोजिन् । उनले पढाइमा असफल भएपछि निरास भई आत्महत्याको बाटो अपनाइन् ।
यी केही प्रतिनिधि घटना मात्र हुन् । निरासा र मानसिक रोगका कारण आत्महत्याका घटना बढ्दो क्रममा छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतमा नौ महिनायता दर्ता भएका मामिलामध्ये धेरैजसो आत्महत्याका छन् । कार्यालयका अनुसार दुई सय ४१ मध्ये ६० आत्महत्याका मामिला छन् ।
आत्महत्या गर्नेमध्ये धेरैले झुण्डिने गरेको प्रहरीको विवरणमा देखिन्छ । कार्यालयका अनुसार साउनयता ४५ जनाले झुन्डिएर आत्महत्या गरेका छन् । त्यसैगरी १२ जनाले विष सेवन गरेर, दुईजनाले पानीमा डुबेर र एकले चक्कु धसेर आत्महत्या गरेका छन् ।
जिल्ला प्रहरी कार्यालयका एसपी सुनिल यादवले आत्महत्याको प्रमुख कारण ‘निरासा’ रहेको बताए । कार्यालयमा आएका आत्महत्याका मामिलाबारे अध्ययन गर्दा गरिबी, असफलता, घरेलु हिंसा प्रमुख कारण रहेको पाइएको उनको भनाइ छ ।
आत्महत्या गर्नेमा १५ वर्षदेखि ४० वर्ष उमेर समूहका बढी छन् । त्यसमा पनि महिलाको सङ्ख्या बढी छ । महिला र बालबालिका सामाजिक रूपमा असुरक्षित हुने हुँदा यस्ता घटनाबाट उनीहरू बढी प्रभावित हुने गरेका यस क्षेत्रमा कार्यरत व्यक्तिहरू बताउँछन् ।
महिला तथा बालबालिकाको क्षेत्रमा कार्यरत गैरसरकारी संस्था सुरक्षित समाजकी मनोविमर्शकर्ता बिमला डाँगी सामाजिक तथा व्यावहारिक तनावले आत्महत्याका घटना हुने गरेका बताउँछिन् ।
उनका अनुसार विशेष गरी किशोरकिशोरीहरू आफ्ना माग पूरा नहुँदा आत्महत्याको विकल्प रोज्ने गर्छन् । यस्तो अवस्थामा उनीहरूका अभिभावकले समस्या पहिचान गरी मनोसामाजिक विमर्श गर्नुपर्ने उनको सुझाव छ ।
कतिपय अवस्थामा घरेलु हिंसाका कारण पनि महिला आत्महत्या गर्न विवश हुने गरेका उनले बताइन् ।
उदासीनता पनि आत्महत्याको प्रमुख कारणका रूपमा रहेको छ । जिल्ला स्वास्थ्य कार्यालयका मानसिक स्वास्थ्यका फोकल पर्सन बसन्त श्रेष्ठ उदासिनतालगायत मानसिक रोगबाट ग्रसित हुनेले आत्महत्या रोज्छन् ।
उनका अनुसार जिल्लामा झण्डै ४०० व्यक्तिमा मानसिक समस्या रहेको छ । तीमध्ये ९५ जना उदासीनताका बिरामी उपचाररत छन् ।
प्रकाशित मिति:
May 10, 2013