बैशाख २७ । सप्तरीको डिमन गाविसमा आगो लगाएर मारिएकी संयुक्ता देवको घटनालाई प्रहरीले फितलो अनुसन्धान गरेर अपराधीलाई उन्मुक्ति दिन खोजेको भन्दै विभिन्न सङ्घसंस्थाले आपत्ति जनाएका छन् ।
अंशका लागि डिमन गाविस–३ निवासी संयुक्ताका जेठाजु र देवर मिलेर उनको शरीरमा आगो लगाएर हत्या गरेको भए पनि प्रहरीले फितलो अनुसन्धान गरेर अपराधीलाई उन्मुक्ति दिन खोजेको भन्दै डेढ् दर्जन सङ्घसंस्थाले यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।
सङ्घसंस्थाका प्रतिनिधिहरूले घटनाको सत्यतथ्य बुझेर पाँच दिनभित्र आरोपित व्यक्तिहरूलाई गिरफ्तार गरी निष्पक्ष छानबिन गर्न माग गरेका छन् ।
पारालिगल अभियान केन्द्र, एकल महिला समूह, महिला दबाब समूह, सोसाइटी वेलफेयर मिसन नेपाल, युवा सशक्तीकरण सङ्घ, बिपी विचार समाज, क्रियाशील महिला पत्रकार समूह, सुर्तीजन्य वस्तु जिल्ला सञ्जाल, युवा विकास नेपाल, नेपाल मुस्लिम वेलफेयर एन्ड एजुकेसन सोसाइटी, सप्तरी सामुदायिक विकास केन्द्र, नारी उत्थान केन्द्र, मेरो नेपाल, महिला शान्ति अनुसन्धान तथा विकास केन्द्र, सामुदायिक विकास तथा मानवअधिकार संरक्षण केन्द्र र गान्धी कोइराला शान्ति प्रतिष्ठानले बिहीबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै उक्त माग गरेका हुन् ।
गत वैशाख १९ गते राति संयुक्ताका जेठाजु अशोक तथा देवरहरू विनयकुमार देव, राजकुमार देवसहितकाले उनको शरीरमा आगो लगाएर हत्या प्रयास गरेका थिए । संयुक्ताको त्यसको तीन दिनपछि धरानस्थित घोपा क्याम्पमा उपचारका क्रममा मृत्यु भएको थियो । रासस
Powered by Blogger.
आगो लगाएर मारिएकी संयुक्ताको हत्यारालाई कारबाही गर्न माग
प्रकाशित मिति:
May 10, 2013