जेठ ३१ । नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले भारतले नेपालमा प्रजातन्त्रको सुदृढीकरण, स्थिरता र निर्वाचन सम्पन्न भएर संविधान बनोस् भन्ने चाहना रहेको बताएका छन् ।
भारत सरकारको निमन्त्रणामा छ दिने भारत भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएका नेता देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै भारत र नेपालबीच रहँदै आएको सम्बन्धलाई विस्तार गर्न भारत सबै प्रकारको सहयोग गर्न तयार रहेको पनि उल्लेख गरे ।
“नेपालमा लोकतन्त्र होस्, चुनाव होस्, स्थिरता आओस् र संविधान बनोस् भन्ने भारत चाहन्छ,” नेता देउवाले भने । भारतीय प्रधानमन्त्री डा मनमोहन सिंह, भारतीय राष्ट्रिय काँग्रेस (आई) का अध्यक्ष सोनिया गान्धी, भारतीय विदेश मन्त्री, विदेश सचिवलगायतका विभिन्न उच्चपदस्थ सरकारी कर्मचारी तथा विभिन्न राजनीतिक दलका नेताहरुसँग आफूले भेटवार्ता गरेको र आफ्नो भ्रमण अत्यन्त सफल रहेको पनि नेता नेता देउवाले बताए ।
उनले अहिलेको चुनावमा बन्दोबस्तीका सामान लगायतका सबै प्रकारका सहयोगहरु उपलब्ध गराउन भारत सरकार तयार रहेको पनि जानकारी दिए ।
“आगामी चुनावका लागि सबै प्रकारको सहयोग गर्न भारत तत्पर रहेको कुरा त्यहाँका प्रधानमन्त्री डा मनमोहन सिंहले मलाई वचन दिएका छन, भारत सरकार नेपाललाई हरप्रकारको मद्दत गर्न चाहन्छ, नेपालको प्रजातन्त्रको सुदृढीकरण र चुनावपछि नेपालमा स्थिरता होस् भन्ने चाहन्छ”– नेता देउवाले भने ।