न्याय र मुक्ति माग्दा कमलरीमाथि सरकारको बर्बर दमन
जेठ २० । कमलरी हत्या र कमलरीहरु माथि भैरहेको यौन शोषणको छानबिन, कमलरी प्रथाको अन्त्य तथा मुक्त कमैयाहरुको उचित ब्यावस्थापन लगायतका माग राखेर सरकारको ध्यानकर्षण गराउन सिंहदरबारको गेट पुगेका कमलरीहरुमाथि पुरुष प्रहरीद्धारा लछार पछार गर्नुका साथै लात्ताले समेत हानेपछि त्यसको चौतर्फी रुपमा विरोध भएको छ ।
आईतबार विहान साढे १० बजे सिंहदरबार पूर्वी गेटमा आन्दोलनमा रहेका कमलरीहरुमाथी प्रहरीले लाठी चार्ज गर्दा ९ जना गम्भीर घइते भएका थिए । आफ्ना मागहरुको सुनुवाई नभएको भन्दै ४ दिनदेखि आन्दोलन गरीरहेका कमलरीहरुले आन्दोलनको क्रममा सिंहदरबारधर्ना बसीरहेको अवस्थामा प्रहरीले लाठी चार्ज गर्नका साथै पुरुष प्रहरीद्धारा लछारपछार गर्नुका साथै कमलरीहरुमाथि लातले हान्ने काम समेत भएको थियो ।
त्यसैको विरोधमा आज दाङका कमलरीहरु आन्दोलनमा उत्रिएका छन् । तर त्यहाँ पनि प्रहरीले हस्तक्षेप गरेको छ । दाङको जिल्ला प्रशासन कार्यालय अगाडि धर्नामा बसेका पूर्वमुक्त कमलरीहरुमाथि सोमवार प्रहरीले अन्धाधुन्ध लाठी प्रहार गर्दा ४ जना कमलरी गम्भीर घाइते भएका छन् ।
प्रहरीले ८० जना आन्दोलनकारीलाई जबरजस्ती भ्यानमा कोचेर जिल्ला प्रहरी कार्यालय दाङ पुरर्याएको थियो । प्रहरीले गरेको धरपकडका क्रममा तीन पूर्वकमलरी वेहोस भएका छन् । वेहोस हुनेमा मन्जिता चौधरी, सिता चौधरी र अमिता चौधरी रहेको प्रहरीको भनाई उघृत गर्दै विभिन्न सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
बालिका बचाउ आन्दोलन अन्तर्गत कमलरी राख्नेमाथि कार्बाही, कम्लहरी सृजना चौधरीको रहस्यमय मृत्यु तथा बेपत्ता कम्लहरीहरुको खोजीका दागि दवाव दिन ३ दिनदेखि जिल्ला प्रसासन कार्यालय परिसरमा आन्दोलन गर्दै आएका मुक्त कम्लरीहरुले सोमबारसाढे ११ बजेदेखि जिल्ला प्रसासनको गेट नै बन्द गरेर धर्नामा बसिरहेको बेला प्रहरीले हस्तपेक्ष गरेको हो ।

यसैबीच, प्रहरीले बर्बरतापूर्वक कमलरीहरुमाथि हस्तक्षेप गरेको भन्दै नेकपा माओवादी, माओवादी निकट विभिन्न स्वदेशी तथा विदेशी भातृ संघ संगठन, मानवअधिकारवादी संघ संगठन तथा सामाजिक सञ्जालहरुमा कडा विरोध भएको छ ।
नेकपा-माओवादी प्रवक्ता पम्फा भुसालले आज एक प्रेस विज्ञप्ति निकालेर घटनाको निन्दा र भत्सर्ना गरेकी छन् । उनले कमलरी प्रथा उन्मुलनका लागि संयुक्त सङ्घर्ष समितिले उठाएका मागहरु आफ्नो पार्टीको समर्थन रहेको भन्दै उनीहरुका माग तत्काल पूरा गर्न आग्रह समेत गरेकी छन् ।
त्यसैगरी, अखिल नेपाल महिला संघ (क्रान्तिकारी) की संयोजक जयपुरी घर्तीले पनि एक प्रेस विज्ञप्ति निकालेर कमलरी प्रथाको अन्त्य, मुक्त कमलरीको व्यवस्थापन र सुरक्षाको माग राखी सिंहदरबार गेट अगाडि शान्तिपूर्ण धर्नामा बसेका आन्दोलनकारी महिलाहरुलाई प्रहरी प्रशासनद्वारा गरिएको बर्बर दमन, धरपकड र गिरफ्तारीको घोर निन्दा एवं भत्र्सना गरेकी छन् ।
त्यसैगरी, नेपाली जनप्रगतिशिल मोर्चा यूएर्इले पनि घटनाको एक प्रेस विज्ञप्ति निकालेर निन्दा र भर्त्सना गरेको छ ।
यता, सामाजिक सञ्जाल, फेसबुक तथा ट्विटरमा पनि सरकारले कमलरीमाथि हस्तक्षेप अमानविय ढंगले हस्तक्षेप गरेको भन्दै त्यसको चर्को आलोचना भईरहेको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरु कतिपयले हस्तक्षेप भन्दा पनि उनीहरुका मागप्रति गम्भीर बन्न सुझाव समेत दिएका छन् भने धेरैले आक्रोश पोखेका छन् ।
प्रकाशित मिति:
June 03, 2013