स्विट्जरल्यान्डद्धारा नेपाललाई ९० करोड
असार ३, रासस । स्विस सरकारले शान्ति कोषलाई थप करिब रु ९० करोड ४३ लाख आर्थिक अनुदान सहयोग प्रदान गरेको छ । सो रकमको केही अंश संविधानसभा निर्वाचनलाई सफल रुपमा सम्पन्न गर्न खर्च गरिने छ ।
विस्तृत शान्ति सम्झौताअनुरुप नेपाल सरकारले सो कोषको स्थापना गरेको थियो । स्विस सरकारले सन् २००८ (विसं२०६४) को संविधानसभा निर्वाचन सम्पन्न गर्न मतदाता शिक्षा, तालिम,निर्वाचन अधिकृतलगायत क्षेत्रमा पनि आर्थिक सहायता प्रदान गरेको थियो ।
अर्थमन्त्री शङ्करप्रसाद कोइरालाको उपस्थितिमा सो अनुदान सहयोगमा अर्थ मन्त्रालयका सहसचिव मधुकुमार मरासिनी र राजदूत गासले हस्ताक्षर गरेका थिए । अर्थ मन्त्रालयद्वारा आयोजित सो कार्यक्रममा आर्थिक एवं प्राविधिक सहयोग प्रदान गरिरहेका ती देशका राजदूत एवं प्रतिनिधिको समेत उपस्थिति थियो ।
अर्थमन्त्री कोइरालाले अगामी बजेटमा संविधानसभा निर्वाचन गराउन उच्च प्राथमिकताका साथ बजेट विनियोजन गर्न लागिएको जानकारी दिए । उनले भने “सरकारको एक मात्र उद्देश्य नै संविधानसभाको निर्वाचन निष्पक्ष, धाँधलीरहित रुपमा सम्पन्न गराएकाले निर्वाचनका लागि बजेट कमी हुन दिइने छैन ।”
राजदूत गासले नेपालको शान्ति प्रक्रियालाई सफल बनाउन शान्ति कोषलाई सहयोग गर्न पाएकामा खुसी व्यक्त गरे ।
प्रकाशित मिति:
June 17, 2013